मेस्सीको दुई गोलसँगै अर्जेन्टिना नकआउट चरणमा

काठमाडौँ । कप्तान लियोनल मेस्सीको दुई गोलको मद्दतमा अर्जेन्टिना जारी विश्वकप फुटबल २०२६ को नकआउट चरणमा प्रवेश गरेको छ ।
आज सम्पन्न खेलमा अर्जेन्टिनाले अष्ट्रियालाई २–० गोलअन्तरले पराजित गरेको हो । अमेरिकाको डालास स्टेडियममा मेस्सीले खेलको ३८औँ मिनेटमा पहिलो गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाए ।
त्यसपछि खेलको दोस्रोे हाफको अतिरिक्त समयमा उनले व्यक्तिगत दोस्रो गोल गर्दै आफनो देशको जित सुनिश्चित गरे । जितसँगै अर्जेन्टिनाका कप्तान मेस्सीले जर्मनीका मिरोस्लाभ क्लोजको नाममा रहेको १६ गोलको कीर्तिमानलाई पछि पार्दै विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन् ।
मेस्सीले आजको खेलसँगै विश्वकपमा १८ गोल गरिसकेका छन् । यसअघि अल्जेरियाविरुद्धको पहिलो खेलमा अर्जेनिन्टना विजयी हुँदा मेस्सीले ह्याट्रिक गोल गरेका थिए ।
समूह ‘जे’ मा रहेको अर्जेन्टिना लगातार दोस्रो जित निकाल्दै ६ अङ्क जोडेर अङ्क तालिकाको शीर्ष स्थानमा रहेको छ । त्यस्तै पराजित अष्ट्रिया दुई खेलबाट ३ अङ्क जोड्दै दोस्रो स्थानमा छ ।
यसै समूहमा रहेका जोर्डन र अल्जेरिया अङ्कबिहीन छन् । उनीहरुले समान एक/एक खेल खेलेका छन् ।









