इजरायली हवाई आक्रमणबाट लेबनानमा क्षति, राष्ट्र बैंकको भवन ध्वस्त

एजेन्सी । दक्षिण लेबनानको नबातियेह शहरमा इजरायली हवाई आक्रमणका कारण ठूलो भौतिक क्षति भएको छ ।
इजरायलले युद्धविरामको घोषणा गरेको भोलिपल्ट आइतबार स्थानीय बासिन्दाहरूले आफ्ना क्षतिग्रस्त घर र व्यवसायहरूको निरीक्षण गरेका छन् भने उद्धार टोलीहरूले भग्नावशेषमा खोजी र पुनःप्राप्ति कार्यलाई निरन्तरता दिएका छन् ।
शहरबाट प्राप्त दृश्यहरूमा लेबनानको केन्द्रीय बैंक (सेन्ट्रल बैंक अफ लेबनान) को नबातियेह शाखाको भवन पूर्ण रूपमा क्षतिग्रस्त भएको देखिएको छ । सडकहरूमा भग्नावशेष छरिएका छन् भने स्काभेटर र सफाइ कर्मचारीहरू सडक सफा गर्न परिचालन गरिएका छन् ।
सुरक्षा व्यवस्था चुस्त राख्न लेबनानी सेनाले विभिन्न क्षेत्रमा सैन्य सवारी साधनसहित गस्ती बढाएको छ । लेबनानी नागरिक रक्षा दलले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा नबातियेह क्षेत्रमा व्यापक खोज, उद्धार र चिकित्सा अपरेसन सञ्चालन गरिएको छ ।
उद्धारकर्मीहरूले भग्नावशेषबाट ६ जनाको शव निकालेका छन् भने ८ जना घाइतेलाई उपचारका लागि अस्पताल पुर्याएका छन् । टोलीले विभिन्न स्थानमा लागेको आगो निभाउनुका साथै बमबारीका कारण अवरुद्ध भएका सडकहरूसमेत खुलाएको छ ।
लेबनानका अर्थमन्त्री यासिन जाबेरले सरकारी संस्थामाथि भएको यस आक्रमणको कडा निन्दा गरेका छन् । उनले इजरायली आक्रमणले केन्द्रिय बैंकको शाखासहित थुप्रै महत्त्वपूर्ण पूर्वाधारहरू ध्वस्त पारेको बताए ।
मन्त्री जाबेरकाअनुसार उक्त बैंक शाखा यस क्षेत्रको वित्तीय जीवनरेखाका रूपमा सञ्चालित थियो, जसले अत्यावश्यक राहत र सहायता कार्यमा सहयोग पुर्याउँदै आएको थियो । केन्द्रिय बैंकले जारी गरेको विज्ञप्तिमा उक्त भवनलाई योजनाबद्ध रूपमा निशाना बनाइएको उल्लेख छ ।
आक्रमणको समयमा भवन खाली रहेकाले कर्मचारी वा सुरक्षाकर्मीमाथि कुनै मानवीय क्षति नभए पनि भौतिक सम्पतीमा गम्भीर क्षति पुगेको बैंकले जनाएको छ। लेबनानी अधिकारीहरूले यस घटनाको निष्पक्ष छानबिन र भविष्यमा यस्ता आक्रमण रोक्न माग गर्दै औपचारिक उजुरी दर्ता गरेका छन् ।
यसैबीच, लेबनानी सेनाले टायर जिल्लाको क्लैलेहस्थित सैन्य चौकीमा भएको इजरायली आक्रमणमा घाइते भएका कर्पोरल समिर अल–अब्दको उपचारका क्रममा मृत्यु भएको घोषणा गरेको छ ।
ठूलो विनाशका बाबजुद नबातियेहमा जनजीवन बिस्तारै सामान्य लयमा फर्कने प्रयास गरिरहेको छ । स्थानीय बासिन्दाहरू आफ्ना व्यवसाय सफा गर्न जुटेका छन् भने सडकमा मानिसहरूको चहलपहल बढ्न थालेको छ । यद्यपि, इजरायली सेनाप्रति अविश्वास व्यक्त गर्दै स्थानीयहरूले अझै पनि सतर्कता अपनाइरहेका छन् ।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले शनिबार युद्धविरामको घोषणा गरेसँगै दक्षिण लेबनानमा अहिले सावधानीपूर्ण शान्ति छाएको सञ्चारमाध्यमहरूले जनाएका छन् ।









