मध्यपूर्वको तनावले रोकिएको नागढुङ्गा–नौबिसे सडक कालोपत्रे सुरु (तस्बिरहरू)

काठमाडौं । काठमाडौं प्रवेश गर्ने मुख्य लाइफलाइनको रूपमा रहेको नागढुंगा–नौबिसे–मलेखु सडक खण्ड अन्तर्गत धादिङको धार्के बजार क्षेत्रमा रोकिएको कालोपत्रे (पिच) गर्ने कार्य पुनः शुरु भएको छ ।

मध्यपूर्वमा बढ्दै गएको भू–राजनीतिक तनावका कारण नेपालमा अलकत्रा (बिटुमिन) आयात ठप्प भएपछि यो महत्वपूर्ण सडक विस्तार र पुल निर्माणको काम लामो समयदेखि प्रभावित बनेको थियो ।

सडक निर्माण व्यवसायी सहदेव खड्काकाअनुसार बिटुमिनको अभावका कारण केही समय ठप्प प्रायः बनेको सडकको काम आयातमा भएको सामान्य सुधारसँगै पुनः सञ्चालनमा ल्याइएको हो ।

हाल अत्यन्तै संवेदनशील र सवारी चाप बढी हुने क्षेत्रहरूलाई प्राथमिकतामा राखेर कालोपत्रे गर्ने काम अगाडि बढाइएको छ । यद्यपि लामो समयको प्रतिक्षापछि कच्चा पदार्थ उपलब्ध भएपनि प्रतिकूल मौसम (वर्षा) का कारण कामलाई सोचेजस्तो गति दिन कठिनाइ भइरहेको व्यवसायी खड्काले बताए ।

यो सडक खण्ड संघीय राजधानी काठमाडौंलाई देशको पूर्वी र पश्चिमी भागसँग जोड्ने सबैभन्दा व्यस्त मार्ग हो । दैनिक हजारौँ सवारी साधन गुड्ने यस सडकमा कालोपत्रे नहुँदा हिउँदमा धुलो र वर्षायाममा हिलोको समस्याले यात्रु तथा स्थानीय बासिन्दा आक्रान्त थिए ।

मध्यपूर्वी देशहरूमा जारी द्वन्द्वका कारण पेट्रोलियम पदार्थ र बिटुमिन जस्ता निर्माण सामग्रीको विश्वव्यापी आपूर्ति श्रृङ्खला खलबलिँदा नेपालका धेरै विकास निर्माणका आयोजनाहरू प्रत्यक्ष मारमा परेका छन् ।

धार्के बजार क्षेत्रमा पुल र सडक कालोपत्रेको कामले गति लिएसँगै स्थानीय व्यवसायी र सर्वसाधारणले केही राहत महशुस गरेका छन् । –न्युज एजेन्सी नेपाल

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 − 7 =