डिजिटल प्रविधिमैत्री बन्दै बैजनाथका किसान

बाँके । बाँकेको बैजनाथ गाउँपालिकाका किसान परम्परागत ढक–तराजु छोडेर डिजिटल प्रविधिमैत्री बन्दै गएका छन् ।

पहिलो चरणमा गाउँपालिकाभित्रका ७६ जना किसानलाई गाउँपालिकाले डिजिटल तराजु वितरण गरेपछि यहाँका किसान प्रविधिसँग जोडिएर श्रमको सही मूल्य पाउन थालेका छन् ।

बैजनाथ गाउँपालिका–७ का किसान दिनेश चौधरीले वर्षौँदेखि परम्परागत ढक–तराजु प्रयोग गरेर आफ्नो खेतबारीको उब्जनी जोख्दा कहिले ढक खिइने त कहिले व्यापारीको आफ्नै तराजुमा शङ्का उपशङ्का हुने समस्या डिजिटल तराजुले अन्त्य गरेको बताए ।

‘अब तौलमा तलमाथि हुने डरै भएन, व्यापारीले पनि ठग्न पाएनन्, आफूलाई पनि ढुक्क भएको छ’ उनले भने, ‘गाउँपालिकाले हामीजस्ता साना किसानको मर्का बुझिदिएर डिजिटल तराजु सहयोग गरेको जस्तो लागेको छ ।’

‘किसानसँग पालिका प्रमुख’ कार्यक्रम अन्तर्गत ७० प्रतिशत अनुदानमा गाउँपालिकाले डिजिटल तराजु वितरण गरेपछि यहाँका किसानको कथा अहिले फेरिएको छ ।

कृषिमा आधुनिकीकरण र यान्त्रिकीकरणका ठूला–ठूला कुरा भइरहँदा, किसानले उत्पादन गरेको वस्तुको सही तौल हुनु नै बजारको पहिलो र मुख्य सर्त ठानेर गाउँपालिकाले चालु आर्थिक वर्ष २०८२/०८३को बजेटमार्फत यो योजना अघि सारेको गाउँपालिका अध्यक्ष प्रकाशबहादुर शाहीले जानकारी दिए ।

‘किसानले उत्पादन गरेको वस्तु खरिद गर्ने व्यक्ति वा व्यवसायी र किसान बिचको विश्वास बढाउने र परिणाम सही निकाल्ने काम यो डिजिटल तराजुले गर्नेछ’, अध्यक्ष शाहीले भने, ‘किसानको उत्पादनलाई बजारीकरण गर्न यसले थप मद्दत पु¥याउने हाम्रो विश्वास छ ।’

गाउँपालिकाले किसानलाई प्रविधिसँग जोड्नका लागि कतिपय क्षेत्रमा ७० प्रतिशत त कतिपयमा पूर्णअनुदान दिँदै आएको गाउँपालिका कृषि शाखा प्रमुख प्रमोदकुमार विश्वकर्माले बताए ।

उनका अनुसार, गाउँपालिकाभरिबाट कुल ९६ जना किसानले तराजुका लागि निवेदन दिएकोमा प्राप्त आवेदनमध्येबाट वास्तविक र आवश्यकताका आधारमा छनोट गरेर पहिलो चरणमा ७६ जना किसानलाई एक–एक थान डिजिटल तराजु वितरण गरिएको हो ।

७० प्रतिशत अनुदान पाएपछि किसानले निकै कम लागतमा आधुनिक प्रविधि आफ्नो घर र खेतबारीसम्म पु¥याउन सफल भएका छन् ।

डिजिटल तराजुले किसानलाई परम्परागत ढक–तराजु जस्तो दण्डी मार्ने वा तौलमा घटबढ हुने सम्भावना शून्य हुने, क्रेता र बिक्रेता दुवैले डिजिटल स्क्रिनमा सिधै तौल देख्न सक्ने भएकाले असमझदारी हट्ने र छिटो र छरितो तौल हुने हुँदा बजारमा सामान लैजाँदा समय बचत हुने उनको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + nineteen =