विश्वकप फुटबल आजदेखि, मेक्सिकोमा उद्घाटन खेल हुँदै

फुटबलको महाकुम्भ मेला विश्वकप फुटबल प्रतियोगिता–२०२६ आजदेखि मेक्सिकोमा सुरु हुँदैछ । मेक्सिको सिटी स्टेडियममा हुने उक्त उद्घाटन खेलमा मेक्सिको र दक्षिण अफ्रिका आमनेसामने हुँदैछन् । दुवै टोली जित निकाल्ने उद्देश्यका साथ मैदानमा उत्रदैछन् । उक्त खेल नेपाली समयअनुसार अहिले राति १२ः४५ बजेदेखि सुरु हुनेछ ।
विभिन्न ४८ राष्ट्र सहभागी यस विश्वकपमा यी दुई टोली समूह ‘ए’ मा रहेका छन् । समूह ‘ए’मा मेक्सिको, दक्षिण अफ्रिकासँगै चेक गणतन्त्र र दक्षिण कोरिया रहेका छन् । यसअघि सन् २०२२ मा कतारमा आयोजना भएको विश्वकपमा भने मेक्सिको समूह चरणबाट नै बाहिरिएको थियो । त्यसअघि सन् १९९४ देखि २०१८ सम्म लगातार सातपटक मेक्सिकोको यात्रा अन्तिम १६ मा समाप्त भएको थियो ।
सन् १९७० र १९८६ मा भएको विश्वकपमा भने मेक्सिको अन्तिम आठमा पुगेको थियो । यस पटक भने मेक्सिको ती सबै नतिजालाई बिर्सँदै नयाँ इतिहास बनाउने उद्देश्यका साथ मैदानमा उत्रनेछ ।
यता, दक्षिण अफ्रिका पनि जित निकाल्ने लक्ष्यका साथ मैदानमा उत्रनेछ । सन् २०१० पछि दक्षिण अफ्रिका विश्वकपमा पहिलो पटक खेल्दैछ । त्यतिबेलाको विश्वकप दक्षिण अफ्रिका आफैँले आयोजना गरेको थियो । त्यतिबेला दक्षिण अफ्रिका समूह चरणको खेलबाटै बाहिरिएको थियो । दक्षिण अफ्रिका करिब १६ वर्षपछि विश्वकपमा फर्किएको हो ।
विभिन्न ४८ राष्ट्र सहभागी यस विश्वकप तीन देशका १६ सहरमा प्रतिस्पर्धा हुदैछ । प्रतियोगिता अमेरिकाका ११, मेक्सिकोका तीन तथा क्यानडाका दुई सहरमा हुनेछ । विश्वकपको इतिहासमा पहिलो पटक ४८ राष्ट्र सहभागी भएका छन् । यसअघि ३२ राष्ट्रले विश्वकपमा प्रतिस्पर्धा गर्दै आएका थिए ।
आजदेखि सुरु भएर जुलाई १९ तारिखमा न्युयोर्कमा समापन हुने यस विश्वकपको सुरुआत तीन वटै आयोजक राष्ट्रमा उद्घाटन समारोह हुनेछ । विश्वकपको उद्घाटन मेक्सिको सिटी, क्यानडाको टोरन्टो र लस एन्जलसमा छुट्टाछुट्टै समारोहमा हुँदैछ । तीन वटै आयोजक राष्ट्रले आ–आफ्नो देशको संस्कृति, इतिहास र पहिचानलाई प्रस्तुत गर्नेछन् ।
मेक्सिको सिटीमा आज हुने मुख्य उद्घाटन समारोहमा शाकिरा, बर्ना ब्वाय, जे बाल्भिन, टाइलालगायतका अन्तर्राष्ट्रिय कलाकारहरूले प्रस्तुति दिनेछन् । अमेरिकामा भने यही जुन १२ तारिखदेखि खेल सञ्चालन हुनेछ । अमेरिकाको लस एन्जलसमा हुने उद्घाटन समारोहमा अमेरिकाको सांस्कृतिक विविधता र मनोरञ्जन क्षेत्रलाई समेटेर प्रस्तुति दिइनेछ । उद्घाटनसत्रपछि आयोजक अमेरिकाले पाराग्वेसँग खेल्दै विश्वकपको उद्घाटन गर्नेछ । उक्त खेल नेपाली समयअनुसार आज बिहान ६ः४५ बजे हुनेछ ।
त्यस्तै क्यानडाको टोरन्टोमा पनि जुन १२ तारिखमै विश्वकपको उद्घाटन हुनेछ । पहिलो पटक विश्वकपको आयोजना गर्न लागेको क्यानडाले आफ्नो देशको पहिचानलाई प्रस्तुत गर्नेछ । मेक्सिको र अमेरिकाले भने यसअघि पनि विश्वकप आयोजना गरिसेकेको अनुभव छ ।








