प्रधानमन्त्रीले आम मतदाताको हुर्मत लिने काम गरिरहनुभएको छः ऐनबहादुर महर

काठमाडौँ । प्रतिपक्ष दल नेकपा (एमाले)का प्रमुख सचेतक ऐनबहादुर महरले प्रधानमन्त्री बालेन्द्र साहले आम मतदाताको हुर्मत लिने काम गरिरहेको आरोप लगाएका छन् ।
बिहीबार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले सरकार र प्रधानमन्त्री साहको पटक पटकको गतिविधिले नेपाली जनता, संसद र जनमतको हुर्मत लिने र अपमान गर्ने काम भइरहेको जिकिर गरेका हुन् ।
प्रमुख सचेतक महरले प्रधानमन्त्री र सरकारका राष्ट्रघाती कदमहरूले आफूलाई नै लज्जित बनाएको पनि बताए । उनले जनतासँग कामै गरेर देखाउने भनेर आएको दलको सरकारले जनता विरोधी काम गरेको देख्दा दुःख लागेको पनि बताए ।
प्रमुख सचेतक महरले भने ‘आज बडो भारी मनका साथ, दुखका साथ म आफ्ना भनाइहरू राख्दैछु । यही जेठ १७ गते सम्माननीय प्रधानमन्त्री आएर नेपालको सीमानाको बारेमा नेपालले पनि भारतको जग्गा मिचेको छ भन्ने अभिव्यक्तिले आम रूपमा २ वटा प्रश्नहरू ज्वलन्त रूपमा उठेको छ । र हामीले यो सदनप्रति जसरी नेपाली जनताले ठुलो विश्वास र भरोसाका साथ मत दिएर हामीलाई यो सदनमा निर्वाचित गराउने भयो, पठाउनु भयो ।
यो सदनको जिम्मेवारी दिनु भयो । प्रतिकमा रूपमा हामीलाई पठाउनु भयो । आज जनताले यो सदन र हामीमाथि २ वटा गम्भीर खालका प्रश्नहरू हामीमाथि सोधिरहेका छन् । पहिलो कुरा अहिलेसम्म विश्वका कुनै पनि सरकार प्रमुखले विश्वका कुनैपनि प्रधानमन्त्रीले नगरेका कुरा, नभनेका कुरा हाम्रो देशका प्रधानमन्त्रीले सदनमा कसरी भन्नु भयो ? तपाईँहरू के हेरेर बस्नु भयो ? तपाईँहरूलाई त्यो कुराले बिझायो कि बिझाएन ? त्यो बेलामा भनेर हामीलाई जनताले प्रश्न सोधिरहेका छन् ।
अझ उहाँहरूको गम्भीर चासो के छ भने, नेपाललाई माया गर्ने, यो भूमिलाई माया गर्ने नेपाली जनताको भने होइन प्रधानमन्त्रीले त्यो खालको राष्ट्रघाती र देशद्रोही कुरा संसदबाट बोलिरहँदा त्यो अभिव्यक्तिमा ताली पिटने सांसद ती को हुन् ? ती त्यही सदनका सदस्य हुन कि को हुन ? जनताले मत दिएर पठाएका त होलान पक्कै पनि । भनेर सोधी रहेका छन् । यसले हामीलाई बडो लज्जित बनाएको छ । बडो दुखित बनाएको छ । र गम्भीर बनाएको छ । वास्तवमा हामी हो नयाँ हौ । हामीले केही परिवर्तन गर्न खोजिरहेको छौ, काम गर्न खोजिरहेको छौ ।
हामी कुरा होइन, काम गर्न आई रहेका छौ भनिरहनु भएको छ । हामीलाई पनि विश्वास लागिरहेको थियो । तर पछिल्लो समयका सरकार र प्रधानमन्त्रीका गतिविधिहरूले यो कुरामा विश्वास गर्ने बनेको छैन सभामुख महोदय । सम्माननीय प्रधानमन्त्रीले पटक पटक यस्ता खालका गतिविधिहरू गर्दै नेपाली जनता, यो संसदको र जनमतको हुर्मत लिने र अपमान गर्ने काम गरिरहनुभएको छ ।’
प्रमुख सचेतक महरले सरकारले देश र जनतामाथि विश्वास घात गरिरहेको पनि बताए ।








