प्रधानमन्त्रीले ‘नेपालले भारतको भूमि मिचेको’ प्रमाण सदनमा पेश गर्नुपर्छ: रेनु चन्द

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की सांसद रेनु चन्दले प्रधानमन्त्री बालेन्द्र साहले नेपालले भारतको भूमि अतिक्रमण गरेको भन्ने अभिव्यक्तिको प्रमाण संसद्मा पेश गर्नुपर्ने बताएकी छन् ।

मंगलबार राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले नेपालले कहाँ र कति भूमि मिचेको हो भन्ने विषयमा प्रधानमन्त्रीले स्पष्ट प्रमाण दिनुपर्ने बताइन् ।

‘कुनै पनि देशले अर्को देशको स्वामित्वमा रहेको जमिनमा कानुनी अधिकार वा आपसी सहमतिविना भौतिक कब्जा जमाउने, संरचना निर्माण गर्ने वा सीमा विस्तार गर्ने कार्यलाई अतिक्रमण भनिन्छ,’ उनले भनिन्, ‘प्रधानमन्त्रीले नेपालले छिमेकीको भूमि मिचेको वा अतिक्रमण गरेको भन्नुभएको छ भने त्यसको प्रमाण सदनमा पेश गर्नुपर्छ ।’

चन्दले प्रधानमन्त्रीले सीमा क्षेत्रमा नेपालले अतिक्रमण गरेको ठोस प्रमाण ल्याउनुपर्ने भन्दै ‘एन्ट्रोचमेन्ट’ र सीमावर्ती क्षेत्रमा देखिने सामान्य व्यवहारिक गतिविधि फरक विषय भएको उल्लेख गरिन् ।

उनले प्रधानमन्त्रीको अभिव्यक्तिलाई राष्ट्रिय अखण्डता, सार्वभौमिकता र संविधानविपरीत भएको टिप्पणी गर्दै नेपाली जनताको आत्मसम्मानमा चोट पुगेको बताइन् । यस्तै, यस्तो अभिव्यक्तिले छिमेकी राष्ट्रसँगको सम्बन्धसमेत बिगार्न सक्ने उनको भनाइ थियो ।

प्रधानमन्त्रीले आफ्नो अभिव्यक्तिको स्रोतसमेत सार्वजनिक गर्नुपर्ने माग गर्दै चन्दले सदनबाट माफी माग्न आग्रह गरिन् ।

उनले प्रधानमन्त्रीको अभिव्यक्तिमा ताली बजाउने सांसद तथा त्यसको बचाउ गर्ने मन्त्रीहरूप्रति पनि टिप्पणी गर्दै सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले राष्ट्रियताको विषयमा आफ्नो धारणा स्पष्ट पार्नुपर्ने बताइन् ।

बैठकमा चन्दले करका दर हेरफेरको विषयमा संसदीय छानबिन समिति गठन गरी अर्थमन्त्री डा. स्वर्णिम वाग्लेमाथि छानबिन गर्नुपर्ने मागसमेत गरिन् ।

उनले अर्थमन्त्रीले जनताको अपेक्षा र आवश्यकताभन्दा आफ्नै सपना पूरा गर्नेतर्फ केन्द्रित भएको आरोप लगाइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 1 =