संसदको लोगोअंकित झण्डासहित सगरमाथा आरोहण गरेका सांसद मिङ्मा शेर्पा सम्मानित

काठमाडौं । संसदको लोगो अंकित झण्डासहित विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्न सफल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मिङ्मा ग्याबु शेर्पा सम्मानित भएका छन् ।

मंगलवार सिंहदरबारमा आयोजित कार्यक्रममा सभामुख डोलप्रसाद अर्याल र राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले सांसद शेर्पालाई सम्मान गरेका हुन् ।

सभामुख अर्यालको अनुमतिमा संसदको झण्डासहित सगरमाथा आरोहण गरेका शेर्पाले गत जेठ १३ गते बिहान ५ बजेर ४० मिनेटमा शिखरमा पुगेका थिए ।

कार्यक्रममा बोल्दै सांसद शेर्पाले संघीय संसदमा सांसदका रूपमा आएपछि संसदको गरिमालाई अझ उच्च बनाउने उद्देश्यसहित झण्डा सगरमाथामा पुर्‍याएको बताए ।

‘संघीय संसदमा आएपछि यसको गरिमालाई सगरमाथाको शिखरमा लगेर फहराउने इच्छा जाग्यो र मैले सभामुखज्युलाई अनुरोध गरेँ,’ उनले भने, ‘उहाँले सहर्ष स्वीकार गर्नुभयो ।’

उनले सगरमाथा नेपाललाई विश्वमा चिनाउने गौरव भएको उल्लेख गर्दै यसले पर्यटन र रोजगारी सिर्जनामा महत्वपूर्ण योगदान पुर्‍याइरहेको बताए ।

सांसद शेर्पाले जलवायु परिवर्तन, हिमाल आरोहण र दुर्घटनासम्बन्धी विषयहरू विश्वभर ध्यानाकर्षण हुने खालका भएकाले सगरमाथाको महत्व अझ बढेको धारणा राखे ।

कार्यक्रममा सभामुख अर्यालले उनलाई आरोहणका लागि विदाइ गरेका थिए ।

३७ वर्षीय शेर्पा ‘मिङ्मा डेभिड’ नामले समेत परिचित छन् । उनले विश्वका १४ वटा आठ हजार मिटरभन्दा अग्ला हिमाल आरोहण गर्ने कान्छा आरोहीको कीर्तिमान समेत बनाएका छन् ।

शेर्पा २०८२ को आम निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + 15 =