सीमा विवादबारे प्रधानमन्त्रीको अभिव्यक्ति असहनीय र गैरजिम्मेवार: विप्लव

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का महासचिव नेत्रविक्रम चन्द्र ‘विप्लव’ले नेपाल–भारत सीमा विवादबारे प्रधानमन्त्री बालेन्द्र शाहले संसदमा दिएको अभिव्यक्तिप्रति कडा आपत्ति जनाएका छन् ।

प्रधानमन्त्री शाहले संसदमा ‘भारतले पनि नेपालको भूमि मिचेको छ र नेपालले पनि भारतको भूमि मिचेको छ’ भन्ने आशयको अभिव्यक्ति दिएको उल्लेख गर्दै विप्लवले त्यसलाई असहनीय, निन्दनीय र गैरजिम्मेवार टिप्पणीको संज्ञा दिएका हुन् ।

सोमबार सामाजिक सञ्जालमार्फत भिडियो सन्देश जारी गर्दै उनले नेपाल–भारत सीमा विवाद दुवै देशको कमजोरीको परिणाम नभई भारतले लामो समयदेखि नेपाली भूभाग अतिक्रमण गर्दै आएको विषय भएको दाबी गरे ।

उनका अनुसार कालापानी, लिम्पियाधुरा, लिपुलेक, सुस्ता र महेशपुरलगायत ६४ भन्दा बढी स्थानमा भारतीय अतिक्रमणबारे विभिन्न विज्ञ र सरोकारवालाहरूले निरन्तर आवाज उठाउँदै आएका छन् ।

“राष्ट्रको यति संवेदनशील विषयलाई हल्का ढंगले प्रस्तुत गर्नु जनतालाई र राष्ट्रलाई हेप्ने काम हो । यो सहन सकिने विषय होइन,” विप्लवले भिडियो सन्देशमा भनेका छन् ।

प्रधानमन्त्रीले संसदको रोष्ट्रमबाट यस्तो अभिव्यक्ति दिँदा पनि सांसदहरूले प्रभावकारी प्रतिवाद नगरेको भन्दै उनले संसदको भूमिकामाथि समेत प्रश्न उठाएका छन् । उनका अनुसार राष्ट्रिय स्वाधीनतासँग जोडिएको विषयमा संसद गम्भीर रूपमा प्रस्तुत हुन नसकेको देखिएको छ ।

विप्लवले प्रधानमन्त्री शाहले आफ्नो अभिव्यक्तिबारे देशसमक्ष स्पष्ट जवाफ दिनुका साथै सार्वजनिक रूपमा माफी माग्नुपर्ने माग गरेका छन् ।

“प्रधानमन्त्रीले यस विषयमा देशलाई स्पष्ट जवाफ दिनुपर्छ र माफी माग्नुपर्छ। साथै, यस्तो अभिव्यक्ति दिने व्यक्ति प्रधानमन्त्री पदका लागि योग्य हो कि होइन भन्ने प्रश्नसमेत उठेको छ,” उनले भनेका छन् ।

राष्ट्रिय स्वाधीनताजस्तो संवेदनशील विषयमा आफ्नो पार्टी छिट्टै संघर्षका कार्यक्रमसहित प्रतिरोधमा उत्रिने चेतावनी दिँदै विप्लवले देशभक्त राजनीतिक शक्तिहरू, विभिन्न संघसंस्था तथा नागरिक समाजलाई एकजुट हुन आह्वान गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + thirteen =