प्रधानमन्त्रीको अभिव्यक्तिले देशको शिर झुकेको छ: एमाले

काठमाडौं । नेपालले पनि भारतको सीमा मिचेको भन्ने प्रधानमन्त्री बालेन्द्र साहको अभिव्यक्तिप्रति प्रतिपक्ष नेकपा (एमाले)ले आपत्ति जनाएको छ ।
आइतबार सिंहदरबारस्थित संसद परिसरमा सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा एमालेका सांसद गुरुप्रसाद बरालले प्रधानमन्त्रीको उक्त अभिव्यक्तिले आम नेपालीको शीर झुकाएको उल्लेख गर्दै त्यसलाई गम्भीरतापूर्वक लिने बताए । ‘नेपालले समेत भारतको भूमि मिचेको रहेछ । म प्रधानमन्त्री भएपछि यो कुरा थाहा पाएँ भनेर प्रधानमन्त्रीले जसरी आज हाउसमा बोल्नुभएको छ । यसले हामी सबै नेपालको शीर झुकेको छ । र, प्रधानमन्त्रीको हैसियतले यसरी देशको सीमाका विषयमा नेपालले भारतको सीमाना मिचेको छ भनेर अत्यन्तै दुःखद छ । गम्भीर आपत्तिजनक छ ’ उनले भने ।
उनले प्रधानमन्त्रीको सो अभिव्यक्तिले सबै नेपालीको प्रतिष्ठामा आँच आएको जिकिर पनि गरे ।
सांसद बरालले प्रधानमन्त्री साहले नेपाली जनताको प्रतिष्ठामा आँच आउने खालको अभिव्यक्ति दिन थालेको पनि बताए । ‘आज यो विषय सबै नेपालीहरूका लागि गम्भीर प्रतिष्ठाको विषय बन्यो । र, देशको शीर यसले झुकाएको छ । हामी यो विषयलाई गम्भीरतापूर्वक उठाउन चाहन्छौँ । यो कुरा सबै नेपाली, सबै देशभक्त स्वाभिमानीहरूको शीरमाथि उहाँले धब्बा लगाउनुभएको छ’ उनले भने ।








