प्रतिनिधि सभा सदस्य निर्वाचन विधेयक राष्ट्रिय सभाबाट पारित

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३ राष्ट्रिय सभाबाट सर्वसम्मत रूपमा पारित भएको छ।
आइतबार बसेको राष्ट्रिय सभा बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त उक्त विधेयक पारित गरेको हो । विधेयकमाथि विभिन्न सांसदहरूले समावेशिता र प्रतिनिधित्वसम्बन्धी प्रावधानलाई थप स्पष्ट र प्रभावकारी बनाउन संशोधन प्रस्ताव दर्ता गरेका थिए । तर छलफलका क्रममा दर्ता भएका तीनवटै संशोधन प्रस्ताव फिर्ता लिइएको थियो ।
विधेयकमाथिको छलफलमा उठेका प्रश्नहरूको जवाफ प्रधानमन्त्री बालेन्द्र शाहका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले दिएकी थिइन् । उनले मधेशी दलित, पिछडिएको समुदाय तथा अपाङ्गता भएका व्यक्तिको प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने विषय सकारात्मक रहेको बताउँदै त्यसको मर्म विधेयकको मूल व्यवस्थामै समेटिएको दाबी गरिन् ।
“प्राविधिक हिसाबले संशोधनमा आएका सकारात्मक विषयहरूलाई सरकारले सकारात्मक रूपमै लिएको छ। २०७८ सालको जनगणनाको तथ्यांकका आधारमा विधेयक ल्याइएको हो,” मन्त्री गौतमले भनिन् ।
उनले समावेशी प्रतिनिधित्वसम्बन्धी सुझावहरू आगामी निर्वाचनसम्बन्धी कानुन संशोधनका क्रममा समेट्ने प्रतिबद्धता समेत जनाइन् ।
“निर्वाचनसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक तर्जुमाको क्रममा छ। उक्त विधेयकमा यहाँ उठाइएका संशोधनका विषयहरू समेट्न सरकार प्रतिबद्ध छ,” उनले भनिन् ।
मन्त्री गौतमले निर्वाचनसम्बन्धी कानुन संशोधन तथा एकीकरणसम्बन्धी नयाँ विधेयकको मस्यौदा तयार गर्ने काम भइरहेको जानकारी समेत दिइन् ।








