नेपाललाई अति कम विकसित मुलुकको सूचीबाट स्तरोन्नति गर्न २ वर्ष समय थप्ने

काठमाडौँ । सरकारले नेपाललाई अति कम विकसित मुलुक (एलडिसी) को सूचीबाट स्तरोन्नति गराउने समय दुई वर्ष थप गर्ने भएको छ ।
शुक्रवार संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा स्वर्णिम वाग्लेले स्तरोन्नतिको प्रक्रिया तत्काल अघि नबढाई थप दुई वर्षका लागि स्थगित गर्ने निर्णय गरेको बताए ।
नेपालले राष्ट्रसंघले तोकेको न्यूनतम योग्यता पूरा गरिसकेको भएपनि दिगो र अप्रतिगम्य स्तरोन्नतिको सुनिश्चितताका लागि समय आवश्यक रहेको बताए । उनले घनीभूत आर्थिक, सामाजिक तथा राष्ट्रिय पुनर्जागरणको आधारमा नेपाललाई थप सुदृढ बनाउँदै स्तरोन्नति गराउने सरकारको नीति रहेको बताए ।
यसअघि निजी क्षेत्रले सरकारलाई तीन वर्ष समय थप गर्न सुझाव दिँदै आएका थिए । नेपालले २०२६ मा अतिकम मुलुकबाट विकासोन्मुख देशमा स्तरोन्नति गर्ने लक्ष्य राखेको थियो ।








