मत्स्यनारायण मन्दिरलाई राष्ट्रिय धार्मिक गन्तव्य बनाउन चन्द्रागिरी नगरपालिका सक्रिय

काठमाडौं । चन्द्रागिरी नगरपालिकाका प्रमुख घनश्याम गिरीले मच्छेगाउँस्थित मत्स्यनारायण मन्दिरलाई नगरपालिकाको ‘नगर गौरव योजना’ अन्तर्गत राखेर विशेष प्राथमिकताका साथ विकास गरिरहेको बताएका छन् ।

बिहीबार आयोजित ‘अधिकमासः भगवान विष्णुको पहिलो अवतार र मत्स्यनारायण मन्दिरको महत्व’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले आदिमकालदेखि चलिआएको धार्मिक तथा सांस्कृतिक परम्परालाई नगरपालिकाले उच्च प्राथमिकतामा राखेको बताए ।

मेयर गिरीका अनुसार मत्स्यनारायण मन्दिरसँगै इन्द्रदह, विष्णुदेवी मन्दिर र मातातीर्थ मेलाजस्ता योजनालाई पनि नगर गौरव योजनामा समावेश गरिएको छ । ती योजनाका लागि बहुवर्षीय कार्यक्रमअन्तर्गत प्रत्येक वर्ष ७५ लाखदेखि १ करोड रुपैयाँसम्म बजेट विनियोजन हुँदै आएको उनले जानकारी दिए ।

उनले मन्दिरको भौतिक संरचना सुधार, जीर्णोद्धार तथा राष्ट्रिय–अन्तर्राष्ट्रिय स्तरमा धार्मिक गन्तव्यका रूपमा विकास गर्ने लक्ष्यसहित काम भइरहेको बताए ।

गिरीले भने, ‘आदिमकालदेखि चलिरहेको यो परम्परालाई चन्द्रागिरी नगरपालिकाले विगत ९ वर्षदेखि विशेष महत्वका साथ हेर्दै आएको छ । नगर गौरव योजनाअन्तर्गत मत्स्यनारायण मन्दिरलाई प्राथमिकतामा राखिएको छ । यसको भौतिक सुधार र जीर्णोद्धार गर्दै नेपालभर परिचित धार्मिक स्थलका रूपमा विकास गर्ने लक्ष्यका साथ काम गरिरहेका छौँ ।’

कार्यक्रममा चन्द्रागिरी नगरपालिका–९ का वडाध्यक्ष अच्युत अधिकारीले प्रचारप्रसारको अभावका कारण मत्स्यनारायण मन्दिरमा अपेक्षाअनुसार भक्तजन आउन नसकेको बताए ।

उनले भगवान विष्णुको पहिलो अवतारसँग जोडिएको यो स्थल पृथ्वीको पहिलो तीर्थस्थल हुनसक्ने दाबी गर्दै यसको धार्मिक महत्व अझ व्यापक रूपमा प्रचार गर्नुपर्ने आवश्यकता औँल्याए ।

अधिकारीले अधिकमास मेलाको समयमा भक्तजनको भीड लाग्ने भए पनि अन्य समयमा आगन्तुकको संख्या न्यून रहने बताए । साथै गुठी संस्थानबाट पूजारीलाई अत्यन्त न्यून रकम उपलब्ध हुने भएकाले मन्दिर सञ्चालनमा आर्थिक चुनौती रहेको उनको भनाइ थियो ।

उनले भने, ‘हामीले पर्याप्त प्रचारप्रसार गर्न नसकेका कारण यहाँ अन्य समयमा भक्तजनको संख्या कम छ । भगवान विष्णुको पहिलो अवतारसँग जोडिएको यो स्थल अत्यन्त महत्वपूर्ण धार्मिक स्थल हो । गुठी संस्थानले उपलब्ध गराउने न्यून रकमबाट पूजारीहरूले पूजा सञ्चालन गरिरहनुभएको छ ।’

उनका अनुसार अधिकमास अर्थात् पुरुषोत्तम मेला व्यवस्थापनका लागि नगरपालिकाले १० लाख रुपैयाँ विनियोजन गरेको छ । जेठ ३ गतेदेखि सुरु भएको मेला एक महिनासम्म सञ्चालन हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − 7 =