काठमाडौँबाट सुरु भयो ‘लाफ्टर फर लाइफ द मोटिभेसन सेसन’(तस्बिरहरू)

काठमाडौँ । मकालुखबरको आयोजनामा ‘लाफ्टर फर लाइफ द मोटिभेसन सेसन’ आइतबारदेखि औपचारिक रूपमा सुरु भएको छ । कार्यक्रमको पहिलो संस्करणको पहिलो सेसन काठमाडौँस्थित प्रज्ञा भवनमा भव्यताका साथ सम्पन्न भएको छ ।
युवाहरूलाई मनोरञ्जनसँगै सकारात्मक सोच, आत्मविश्वास र सही जीवनदृष्टितर्फ प्रेरित गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा विज्ञापनदाता, सहयोगी संस्था, युवा तथा विद्यार्थीहरूको उल्लेख्य सहभागिता रहेको थियो ।
कार्यक्रममा मकालुखबरका प्रमुख सिआर बस्नेतले स्वागत मन्तव्य राखेका थिए । प्रमुख बस्नेतले ‘लाफ्टर फर लाइफ द मोटिभेसन सेसन’ले देशभरका युवामा नयाँ ऊर्जा र सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास व्यक्त गरे ।
कार्यक्रममा चर्चित प्रस्तोता तथा कलाकार सन्दीप क्षेत्रीसहितको ब्याण्डले मनोरञ्जनात्मक प्रस्तुति दिएका थिए ।
एक्स्ट्रिम इनर्जी ड्रिङ्क मुख्य प्रायोजक रहेको कार्यक्रम देशका विभिन्न प्रमुख सहरहरूमा सञ्चालन हुनेछ । कार्यक्रमअन्तर्गत जेठ १५ गते पोखरा, १६ गते बुटवल, १७ गते चितवन, १९ गते वीरगन्ज, २१ गते बिर्तामोड र २२ गते इटहरी पुगेर कार्यक्रम समापन गरिने छ ।
कार्यक्रममार्फत देशभरका २२ हजारभन्दा बढी युवालाई मनोरञ्जनको माध्यमबाट आफ्नो वास्तविक लक्ष्य पहिचान गर्न प्रेरित गरिने लक्ष्य राखिएको छ ।
सामाजिक उत्तरदायित्वअन्तर्गत सञ्चालन गरिएको कार्यक्रमले युवाहरूलाई आफ्नो भविष्यप्रति थप स्पष्ट सोच र नयाँ ऊर्जा प्रदान गर्ने विश्वास गरिएको छ ।









