नेपालमा हान्टाभाइरसको जोखिम न्यून रहेको स्वास्थ्य मन्त्रालयको दाबी

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले नेपालमा हान्टाभाइरस सङ्क्रमणको जोखिम अत्यन्त न्यून रहेको जनाएको छ ।

मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले हान्टाभाइरस समूहअन्तर्गतको ‘एन्डिज भाइरस’ फैलाउने मुसा नेपालमा नपाइने भएकाले संक्रमणको जोखिम कम रहेको बताएका हुन् ।

उनका अनुसार नेपालमा हालसम्म हान्टाभाइरस सङ्क्रमण पुष्टि भएको छैन । हान्टाभाइरस एक दुर्लभ प्रकारको भाइरस हो, जुन मुख्यतः सङ्क्रमित मुसाको पिसाब, दिसा र र्‍यालमार्फत मानिसमा सर्ने गर्दछ ।

मन्त्रालयले वैज्ञानिक अध्ययनअनुसार मानिसबाट मानिसमा यसको सङ्क्रमण अत्यन्त सीमित अवस्थामा मात्र सम्भव हुने जनाएको छ । सामान्यतया धेरै नजिकको सम्पर्कमा मात्र संक्रमण सर्ने सम्भावना रहने बताइएको छ ।

मन्त्रालयले अफवाहको पछि नलाग्न तथा अनावश्यक त्रास सिर्जना नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ । साथै आधिकारिक निकायबाट जारी हुने सूचनामा मात्र विश्वास गर्न अनुरोध गरेको छ ।

त्यसैगरी, मन्त्रालयले हान्टाभाइरसबाट बच्न आवश्यक सावधानी अपनाउन पनि आग्रह गरेको छ । घर तथा वरपरको वातावरण सफा राख्ने, मुसा प्रवेश गर्न सक्ने स्थान बन्द गर्ने, मुसाको फोहोर सफा गर्दा मास्क र पञ्जा प्रयोग गर्ने तथा साबुनपानीले नियमित हात धुने बानी बसाल्न सुझाव दिइएको छ ।

ज्वरो, श्वासप्रश्वासमा समस्या वा अन्य असामान्य लक्षण देखिए नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्न पनि मन्त्रालयले आग्रह गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − 4 =