नेपाल प्रहरीको तीन वर्षे रणनीतिक योजना सार्वजनिक

काठमाडौँ । नेपाल प्रहरीले सेवालाई नागरिक केन्द्रित र प्रविधिमैत्री बनाउनका लागि ३ वर्षे रणनीतिक योजना २०८३–२०८५ सार्वजनिक गरेको छ ।

योजनामा संगठनको प्रविधिमैत्री रूपान्तरण, कृत्रिम बौद्धिकता (एआई) को प्रयोग, अपराध रोकथाम तथा नियन्त्रण, अनुसन्धानको आधुनिकीकरण र समुदाय साझेदारीलाई मुख्य प्राथमिकता दिइएको छ ।

मंगलवार प्रहरी प्रधान कार्यालय एक कार्यक्रमका बीच सार्वजनिक गरिएको रणनीतिक योजनामा नवप्रवर्तन, इमानदारिता र तत्परतामार्फत प्रहरी सेवाको रूपान्तरण गर्ने लक्ष्य राखिएको छ । नेपाल प्रहरीको अपराध अनुसन्धानलाई सूचनामा आधारित बनाइ प्रहरी सेवाको डिजिटलीकरणलाई तीव्रता दिने योजना समेत छ ।

प्रहरी सेवामा पारदर्शिता, जबाफदेहिता र परिणाममुखी कार्यशैली विकास गर्न ७ रणनीतिक क्षेत्र तय गरिएका छन् । रणनीतिक योजनाले प्रहरी संगठनभित्र नीतिगत तथा कानुनी सुधार, समुदाय–प्रहरी सहकार्य संस्थागत गर्ने, अपराध रोकथाम तथा नियन्त्रण प्रणालीलाई पूर्वानुमानमा आधारित बनाउने, प्रहरी प्रशासन र सेवा प्रवाहको कार्यदक्षता सुधार गर्ने तथा वैज्ञानिक मूल्यांकन प्रणाली विकास गर्ने लक्ष्य अघि सारेको छ ।

रणनीतिक योजना सार्वजनिक कार्यक्रममा बोल्दे प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नेपाल प्रहरीको नयाँ रणनीतिक योजना केवल कागजी दस्ताबेज नभई संगठनलाई समयानुकूल रूपान्तरण गर्ने साझा कार्ययोजना भएको बताए । उनले रणनीतिक योजनाको सफल कार्यान्वयनका लागि संगठनको जवानदेखि माथिल्लो दर्जासम्मका सबै कर्मचारीको समान जिम्मेवारी रहने बताए ।

उनले रणनीतिक योजना प्रहरी संगठनको समग्र कार्यदिशा भएको उल्लेख गर्दै यसको प्रभावकारी कार्यान्वयनमा लाग्न सबै तहका कर्मचारीलाई निर्देशन समेत दिए ।

उनले भने ‘नेपाल प्रहरीको रणनीतिक योजना सामूहिकताको प्रतिफल हो । यसलाई नागरिक केन्द्रित बनाउन हामी सबै लाग्नुपर्छ । कसैले झुक्किएर नेपाल प्रहरीमा जागिर खाएको भएपनि यसमै योगदान गर्नुपर्ने हुन्छ । हामीले चाहाना र भावनाले खाएको हुनाले यसमा दिलचस्पी छँदैछ । यो हाम्रो मात्र नभई संगठनको समग्र कार्ययोजना भएको हुनाले यसको सफलता सडकमा खटिने जवानदेखि आईजीसम्मको हो । त्यसैले यो संगठनलाई समयानुकूल बनाउन टेवा पुग्नेछ भन्ने विश्वास छ । जबाफदेहिता र उत्तरदायित्व जस्ता शब्द बोकेको यो कार्ययोजना सेवाग्राहीको सन्तुष्टि केन्द्रित नतिजामुखी संगठनको चाहाना छ । यो चाहाना नागरिक तहबाट व्यक्त भएको छ ।’

आईजीपी कार्कीले नागरिक तहबाट व्यक्त अपेक्षाअनुसार प्रहरी सेवाको सुधार गर्दै संगठनको पारदर्शिता र व्यावसायिकता अभिवृद्धि गर्ने प्रतिबद्धता समेत जनाए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + six =