प्रधानमन्त्रीले जानीजानी संसदको उपेक्षा गर्नुभएको छः महामन्त्री पौडेल

प्रजातान्त्रिक विचार समाज, नेपालको साधारणसभामा आइतबार बोल्दै उनले प्रधानमन्त्रीको कार्यशैली अपरिपक्वताका कारण नभई नियतवश भएको दाबी गरे ।
पौडेलले प्रधानमन्त्री संसदप्रति उत्तरदायी हुनुपर्नेमा जोड दिँदै वर्तमान सरकारका गतिविधिले लोकतान्त्रिक व्यवस्था र संवैधानिक प्रणालीमाथि जोखिम बढाएको टिप्पणी गरे ।
उनका अनुसार ठूलो जनविश्वासका साथ बनेको सरकार छोटो समयमै प्रश्नहरूको घेरामा पर्न थालेको छ, जसले नागरिकमा निराशा बढाउने र व्यवस्थाप्रति अविश्वास सिर्जना गर्ने खतरा बढाएको छ ।
‘यति ठूलो जनविश्वास प्राप्त गरेर आएको सरकार यति चाँडै प्रश्नहरूको घेरामा पर्नु राम्रो संकेत होइन,’ उनले भने, ‘यसले नागरिकलाई व्यवस्थाभित्रै विकल्प छैन कि भन्ने सोचतर्फ धकेल्ने जोखिम बढाएको छ ।’
पौडेलले सरकारले शक्तिको अत्यधिक केन्द्रीकरण गरेको आरोप पनि लगाए । उनका अनुसार राजस्व अनुसन्धान, सम्पत्ति शुद्धीकरण र विशेष अनुसन्धानजस्ता निकायलाई प्रधानमन्त्री केन्द्रित बनाइएको छ ।
त्यस्तै, संवैधानिक परिषद्को संरचना परिवर्तन गरेर ६ सदस्यीय समितिमा ३ जनाले बहुमत पुग्ने व्यवस्था बनाइएको भन्दै उनले यस्तो अभ्यास विश्वमै दुर्लभ भएको टिप्पणी गरे ।
उनले सरकारले संसद, राष्ट्रपति तथा संवैधानिक संस्थाहरूको भूमिका कमजोर बनाएको आरोप लगाउँदै लोकतान्त्रिक प्रणाली कमजोर हुँदै गएको बताए ।
पौडेलका अनुसार नेपाली काँग्रेस अहिले प्रतिपक्षको भूमिकामा रहेको उल्लेख गर्दै लोकतन्त्र र संसदीय प्रणालीको रक्षा गर्न सरकारलाई निरन्तर प्रश्न गर्ने बताए ।
‘हामी सरकार असफल होस् भन्ने चाहँदैनौँ,’ उनले भने, ‘तर लोकतन्त्र कमजोर बनाउने कुनै पनि प्रयासविरुद्ध प्रतिपक्ष चुप बस्न मिल्दैन ।’
उनले प्रधानमन्त्रीमा ‘म नै सबैथोक हुँ’ भन्ने मनोविज्ञान हाबी भएको आरोप लगाउँदै यस्तो प्रवृत्तिले लोकतन्त्रलाई नै कमजोर पार्ने खतरा हुने चेतावनी दिए ।
राज्यको चरित्र लोकतान्त्रिक नभए नागरिकलाई पीडा हुने भन्दै उनले सरकारलाई समयमै सीमाभित्र राख्न नसकिए लोकतान्त्रिक मूल्य र प्रणाली संकटमा पर्न सक्ने धारणा राखे ।
पौडेलले काँग्रेस लोकतान्त्रिक मूल्य र विधिको रक्षामा प्रतिबद्ध रहने पनि स्पष्ट पारे ।








