उपराष्ट्रपति यादवसँग इजरायली राजदूतको शिष्टाचार भेटवार्ता

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि इजरायलका महामहिम राजदूत श्मुलिक एरी बासले शिष्टाचार भेटवार्ता गरेका छन् ।
लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा भएको भेटमा द्विपक्षीय सम्बन्ध, आर्थिक सहयोग, श्रम आप्रवासन, शिक्षा तथा तालिमलगायत विषयमा महत्वपूर्ण छलफल भएको थियो ।
उपराष्ट्रपति यादवले नेपाल–इजरायलबीच सन् १९६० जुन १ मा कूटनीतिक सम्बन्ध स्थापना भएयता मित्रता, सद्भाव र पारस्परिक सहयोगमा आधारित सम्बन्ध मजबुत हुँदै आएको बताए ।
उनले अर्थतन्त्र, व्यापार, पर्यटन तथा लगानीका क्षेत्रमा सहकार्य विस्तारका प्रशस्त सम्भावना रहेको उल्लेख गर्दै ती अवसरको उपयोग गर्न सके दुवै देशले लाभ लिन सक्ने विश्वास व्यक्त गरे ।
उपराष्ट्रपति यादवले नेपाली श्रमिकलाई रोजगारीका अवसर उपलब्ध गराएकामा इजरायल सरकारप्रति धन्यवाद व्यक्त गरे । साथै नेपाली विद्यार्थी तथा पेशाकर्मीका लागि छात्रवृत्ति, व्यावसायिक तालिम र क्षमता अभिवृद्धि कार्यक्रमलाई निरन्तरता दिइएकोप्रति नेपालले उच्च मूल्याङ्कन गरेको बताए ।
उनले भने, ‘शिक्षा, कृषि, सहकारी विकास, प्रहरी तथा सैनिक तालिमलगायत क्षेत्रमा इजरायलले पु¥याउँदै आएको सहयोग प्रशंसनीय छ । विशेषगरी कृषि प्रविधि, अनुसन्धान तथा क्षमता विकासमा हुने सहकार्यले नेपालको कृषि क्षेत्रको आधुनिकीकरण तथा खाद्य सुरक्षामा रूपान्तरणकारी भूमिका खेल्न सक्छ ।’
उपराष्ट्रपति यादवले दुवै देशका विश्वविद्यालय, अनुसन्धान संस्थान र नवप्रवर्तन प्रणालीबीच सहकार्यका ठूलो सम्भावना रहेको पनि उल्लेख गरे । साथै संयुक्त राष्ट्रसङ्घलगायत अन्तर्राष्ट्रिय मञ्चहरूमा नेपाल–इजरायलबीच रहँदै आएको सहकार्य आगामी दिनमा अझ सुदृढ हुने विश्वास व्यक्त गरे ।
उनले पश्चिम एसियाको विकसित परिस्थितिलाई नजिकबाट नियालिरहेको नेपाल शान्तिपूर्ण सहअस्तित्वको सिद्धान्तप्रति प्रतिबद्ध रहेको बताए ।
इजरायली राजदूत श्मुलिक एरी बासले नेपाललाई कृषि, माहुरीपालन र माछापालनजस्ता क्षेत्रमा सहयोग गर्न इजरायल इच्छुक रहेको बताए । उनले ‘लर्न एन्ड अर्न’ कार्यक्रममार्फत धेरै नेपालीले इजरायलमा सीप सिकेर काम गरिरहेको उल्लेख गर्दै भविष्यमा पनि नेपालीका लागि रोजगारी अवसर प्रदान गर्न इजरायल तयार रहेको जानकारी दिए ।
उनले नेपाललाई विभिन्न क्षेत्रमा प्राविधिक सहयोग विस्तार गर्ने चाहना इजरायलको रहेको पनि बताए ।








