सांसदहरू भन्छन्: ग्रिन हाइड्रोजन प्रविधिमार्फत मल उत्पादन गरौँ

काठमाडौं । प्रतिनिधिसभाका सांसदहरूले रासायनिक मलको अत्यधिक प्रयोगका कारण माटोको उर्वराशक्ति कमजोर हुँदै गएको भन्दै ग्रीन हाइड्रोजन प्रविधिमार्फत मल उत्पादन गर्नुपर्नेमा जोड दिएका छन् ।

शुक्रबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा बोल्दै सांसदहरूले रासायनिक मलको विकल्प खोज्न सरकार गम्भीर हुनुपर्ने धारणा राखेका हुन् ।

सांसदहरूले रासायनिक मलको प्रयोगका कारण उत्पादन घट्दै गएको तथा जनस्वास्थ्यमा समेत असर परेको भन्दै वैकल्पिक प्रविधिमा जोड दिनुपर्ने बताएका छन् ।

बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद केपी खनालले विद्युत् प्रयोगमार्फत ग्रीन हाइड्रोजन प्रविधिबाट मल उत्पादनतर्फ सरकार अघि बढ्नुपर्ने बताए । उनले किसानहरू मल माग्दै सिंहदरबार धाउनुपर्ने अवस्थाको अन्त्य गर्न कृषि मन्त्रालयले प्रभावकारी काम गर्नुपर्नेमा जोड दिए । ‘विद्युत् प्रयोग गरी ग्रीन हाइड्रोजन प्रविधिमार्फत मल उत्पादन गर्ने कुरा गर्नुपर्छ । आज माटोमा खेलेर हाम्रो भोक मेटाइरहेका नागरिकहरूले मलको माग गर्दै सिंहदरबार आउनुपर्ने आवश्यकता छ । आज उनीहरूको पक्षमा बोल्ने सरकार आएको छ । तर यसका लागि कृषि मन्त्रालयले दक्षताका साथ काम गर्नुपर्ने हुन्छ । बालुवा मात्रै भएको इजरायलले सुन फलाउन सक्छ भने हामी पहाड, हिमाल र तराई भएको देशका नागरिक हौँ, हामीले के फलाउन सक्दैनौँ ? त्यसकारण यसतर्फ लागौँ’ उनले भने ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ताहिर अली भाटले हरेक वर्ष दोहोरिने मल अभाव अन्त्य गर्न सरकारले स्पष्ट रोडम्याप बनाउनुपर्ने बताए । उनले स्वदेशमै मल कारखाना स्थापना गर्ने नीतिसहित अघि बढ्नुपर्नेमा जोड दिए ।  ‘हरेक वर्ष मलको समस्या उठ्छ । यसको संकट मोचनका लागि के गर्ने त ? मल कारखाना बनाउने कि नबनाउने ? हामी अगाडि बढेनौँ भने हरेक वर्ष सिजनमा मल छैन भनेर बस्ने हो । यति धेरै राजनीतिक परिवर्तन हुँदा पनि मलको समस्या हल भएन । त्यसकारण यो समस्या हल गरौँ र कृषि पेशालाई सम्मानित बनाएर युवा पलायन रोकौँ’ उनले भने ।

यस्तै, नेपाली कांग्रेसकी सांसद गीताकुमारी सेन्दाङले किसानलाई आवश्यक रासायनिक मल तत्काल उपलब्ध गराउन सरकारसँग माग गरिन् । उनले कृषकको लगानीअनुसार मल आपूर्ति सुनिश्चित गर्नुपर्नेमा जोड दिइन् ।

उनले बाँझो जमिन उपयोगमा ल्याउन सुकुम्बासी नागरिकलाई लिजमा जमिन उपलब्ध गराउने नीति ल्याउन सरकारलाई सुझाव पनि दिइन् । विदेशमा रहेका युवालाई समेत कृषि क्षेत्रमा जोड्नुपर्ने उनको भनाइ थियो ।

उनले भनिन्, ‘अहिले तत्कालका लागि किसानलाई रासायनिक मल आपूर्ति गरिदिनुपर्छ । कृषकले गरेको लगानीका आधारमा आवश्यक मल सरकारले उपलब्ध गराउनुपर्छ । बाँझो जमिनमा सुकुम्बासी नागरिकलाई लिजमा दिएर काम गर्ने वातावरण बनाउनुपर्छ । विदेशमा रहेका युवालाई पनि बाँझो जमिनसँग जोड्नुपर्छ ।’

बैठकमा बोल्ने अधिकांश सांसदहरूले बाँझो जमिनलाई खेतीयोग्य बनाउनुपर्ने, सुकुम्बासी तथा युवा पुस्तालाई उत्पादनमुखी रोजगारी र कृषि शिक्षासँग जोड्नुपर्नेमा जोड दिएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 1 =