रास्वपाको महाधिवेशनबाट रवि लामिछाने नै सभापति बन्ने दाबी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री कविन्द्र बुर्लाकोटीले आगामी महाधिवेशनबाट रवि लामिछाने नै पुनः सभापतिमा निर्वाचित हुने बताएका छन् । उनले अन्य पदमा को-को जाने भन्ने विषयमा भने अझै छलफल नभएको जानकारी दिए ।
रास्वपाको पहिलो महाधिवेशन आगामी असार ७, ८ र ९ गते चितवनमा हुँदैछ । असार ७ गते नै पार्टी स्थापना दिवस पनि पर्ने भएकाले सोही अवसरमा महाधिवेशन आयोजना गर्न लागिएको हो ।
महाधिवेशनको तयारी तीव्र गतिमा भइरहेको बताउँदै बुर्लाकोटीले विभिन्न उपसमितिहरू गठन गर्ने कामसमेत भइरहेको जानकारी दिए ।
चितवनलाई महाधिवेशन स्थलका रूपमा छनोट गर्नुको कारणबारे सञ्चारकर्मीले सोधेको प्रश्नमा उनले चितवन पार्टीको ‘इपिसेन्टर’ र देशकै भौगोलिक केन्द्रविन्दु भएकाले उपयुक्त ठानिएको बताए । ‘चितवन भनेको सबैतिरको मध्यभागजस्तो हो । पार्टीको इपिसेन्टरको रूपमा पनि रहेको छ । यहाँबाट पार्टीलाई धेरै मत आएको छ । सभापतिले चुनाव जित्नुभएको हिसाबले पनि चितवन नै उपयुक्त ठानियो’ उनले भने ।
पार्टी सभापतिमा रवि लामिछाने दोहोरिने सम्भावना कति छ भन्ने प्रश्नमा बुर्लाकोटीले स्पष्ट रूपमा भने, ‘यसमा कुनै शंका छैन । रवि लामिछाने नै सभापति बन्नुहुने हो ।’
रवि लामिछानेको विकल्प छैन त भन्ने प्रश्नमा उनले पार्टीमा धेरै नेताहरू रहेको उल्लेख गर्दै अहिलेको प्राथमिकता नेतृत्वको प्रतिस्पर्धाभन्दा पनि देशलाई निकास दिने विषय भएको बताए ।
उनले भने, ‘विकल्प त नहुने होइन, पार्टीमा धेरै नेताहरू हुनुहुन्छ । तर, यदि पार्टी एक ढिक्का छ भने यसले देशलाई निकास दिनसक्छ । नेताहरू को-को हुने भनेर हानाथाप गर्नेभन्दा पनि निकास दिने कुरा महत्वपूर्ण हो ।’
प्रधानमन्त्री बालेन्द्र शाह रास्वपाको कुन पदमा उठ्ने भन्ने प्रश्नमा भने उनले नेताहरूको जिम्मेवारीबारे अहिलेसम्म कुनै छलफल नभएको बताए ।








