छानबिनपछि गृहमा फर्किने संकेत ? सुधन गुरुङले भने– ‘पहिले अनुसन्धान हुनुपर्‍यो’

काठमाडौं । पूर्वगृहमन्त्री सुधन गुरुङमाथि छानबिन गर्न सरकारले बिहीबार तीन सदस्यीय छानबिन समिति गठन गरेको छ । गृहमन्त्री पदबाट बाहिरिएयता गुरुङ स्वयंले आफूमाथि निष्पक्ष छानबिन गर्न माग गर्दै आएका थिए ।

गृहमन्त्रीको छोटो कार्यकालमै विभिन्न विवाद र प्रश्न उठेपछि उनले राजीनामा दिएका थिए । छानबिन समिति बनेपछि अब आफूले सफाइ पाउने र पुनः गृहमन्त्रीमा फर्किन सक्ने चर्चा राजनीतिक वृत्तमा सुरु भएको छ ।

कतिपयले भने गुरुङलाई आरोपमुक्त गर्दै पुनः गृह मन्त्रालयमै फर्काउने उद्देश्यले सरकारले छानबिन समिति गठन गरेको आशंका व्यक्त गरेका छन् ।

गुरुङले पद छाडेपछि प्रधानमन्त्री बालेन्द्र शाहले नयाँ गृहमन्त्री नियुक्त गरेका छैनन् । गृह मन्त्रालय हाल प्रधानमन्त्रीकै मातहतमा छ । यसले पनि मन्त्रालय गुरुङकै लागि ‘होल्ड’ गरिएको हो कि भन्ने अड्कलबाजी बढाएको छ ।

यसैबीच, बिहीबार राति संसद् बैठकपछि बाहिरिने क्रममा सञ्चारकर्मीले गुरुङसँग पुनः गृहमन्त्री बन्ने चर्चाबारे प्रश्न गरेका थिए । उनले स्पष्ट जवाफ नदिँदै मिडिया ट्रायलप्रति असन्तुष्टि जनाए ।

सवाल–जवाफका क्रममा पत्रकारले ‘तपाईं १५ दिनपछि फेरि गृहमन्त्री बन्ने चर्चा छ, यो कति सत्य हो ?’ भनेर सोध्दा गुरुङले हाँस्दै भने, ‘ट्रायल कि ट्रायल गर्छ मिडियाले पनि, के गर्ने त ? तपाईं पनि मिडिया होइन ?’

अर्को प्रश्नमा उनले भने, ‘सुरुमा छानबिन हुनुपर्‍यो । छानबिनपछि मात्रै हुन्छ । आफैं जज त हुनुभएन नि ! पत्रकारिता स्वतन्त्र र स्वच्छ हुनुपर्छ । स्वतन्त्रताको नाममा अराजकता र भ्रम फैलाउने काम गर्नुभएन ।’

छानबिनबाट सफाइ पाउनेमा कति विश्वस्त हुनुहुन्छ भन्ने प्रश्नमा गुरुङले आफूले नै छानबिन गर्न आग्रह गरिरहेको बताएका छन् ।

उनले भने, ‘छानबिन गर्नुस् न भनेको छु । के छ र त्यसमा ? म त सर्वसाधारण मान्छे हो नि ! गृहमन्त्री हुनुभन्दा अगाडि कुनै सार्वजनिक पदमा बसेको थिइनँ । कतैबाट राज्यको पैसा लिएको छैन, बरु राज्यलाई दिएका छौँ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − 1 =