प्रधानमन्त्रीको राजीनामा माग्नुपर्ने कारण छैन: ज्ञानेन्द्र शाही

अध्यक्ष साम्पाङले चार कारण देखाउँदै प्रधानमन्त्रीको राजीनामा माग गरेपछि शाहीले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिएका हुन् ।
शाहीले विगत ३५ वर्षदेखि देशमा भ्रष्टाचार र लुटतन्त्र चलाउने शक्तिहरूविरुद्ध जनताले अहिलेको नेतृत्वलाई मत दिएको दाबी गरेका छन् । उनले जनादेशको सम्मान गर्नुपर्नेमा जोड दिएका छन् ।
उनले भने, “माननीय हर्क साम्पाङज्यूलाई मेरो विनम्र अपिल छ, प्रधानमन्त्रीज्यूको राजीनामा माग्नुपर्ने कुनै कारण छैन । याद गर्नुस्, तिनै शक्तिहरूले ३५ वर्षसम्म यो देश लुटे, भ्रष्टाचार गरे। तिनैका विरुद्धको लडाइँमा अहिलेका जनताले मतदान गरेका हुन्। त्यसैले हामीले जनताको मत र जनादेशको सम्मान गर्नुपर्छ ।”
शाहीले देशलाई अगाडि बढाउन सबै राजनीतिक शक्ति एकजुट हुनुपर्ने धारणा पनि राखेका छन् ।
उनले प्रधानमन्त्रीलाई संसद्प्रति उत्तरदायी बन्न आग्रह गर्दै भने, “हाम्रो माग यति मात्रै हो कि प्रधानमन्त्री प्रजातान्त्रिक भइदिनुहोस्, संसद्प्रति उत्तरदायी भइदिनुहोस्। किनकि संसद् जनताको आवाज बोल्ने थलो हो, जनताका कुरा सरकारलाई सुनाउने सर्वोच्च प्रजातान्त्रिक मञ्च पनि संसद् नै हो।”








