प्रतिनिधिसभा सचिवमा प्रकाश अधिकारी नियुक्त

काठमाडौं । प्रतिनिधिसभाको सचिवमा प्रकाश अधिकारी नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्याल को सिफारिसमा अधिकारीलाई सचिव पदमा नियुक्त गरेका हुन् ।
नेपालको संविधानको धारा १०६ को उपधारा (१) अनुसार सभामुखको सिफारिसमा प्रतिनिधिसभाको सचिव नियुक्त गर्ने संवैधानिक व्यवस्था रहेको छ । सोही व्यवस्थाअनुसार राष्ट्रपतिले अधिकारीलाई नियुक्त गरेका हुन् ।
संविधानमा संघीय संसदको महासचिव, प्रतिनिधिसभाको सचिव तथा राष्ट्रिय सभाको सचिव नियुक्तिसम्बन्धी व्यवस्था स्पष्ट रूपमा उल्लेख गरिएको छ ।
नवनियुक्त सचिव अधिकारी संखुवासभाको खाँदबारी नगरपालिका–३ का निवासी हुन् । उनले त्रिभुवन विश्वविद्यालय बाट ग्रामीण विकास विषयमा स्नातकोत्तर गरेका छन् भने दक्षिण कोरियाबाट अन्तर्राष्ट्रिय व्यापार तथा आर्थिक साझेदारी विषयमा पनि स्नातकोत्तर गरेका छन् ।
निजामती सेवामा २४ वर्षभन्दा बढी अनुभव हासिल गरेका अधिकारी उपसचिव पदबाट अवकाश प्राप्त कर्मचारी हुन् ।









