छैसट्ठीऔँ धौलागिरि आरोहण दिवस मनाइयो

म्याग्दी । म्याग्दीमा रहेको संसारको सातौँ अग्लो धौलागिरि हिमालको ६६ आरोहण दिवस आज विविध कार्यक्रमका साथ मनाइएको छ ।

आठ हजार १६७ मिटर अग्लो धौलागिरि हिमाल अवस्थित धौलागिरि गाउँपालिका–४ मुदीमा पदमार्ग र घरबास प्रवर्धन तथा पर्वतारोही सम्मान गरेर दिवस मनाइएको हो ।

सन् १९६० मे १३ मा अस्ट्रियाका कुर्ट डिम्बर्गरले पहिलो पटक यस हिमालको सफल आरोहण गरेका थिए ।

उनीसहित डिम्बर्गरसहित पिटर डियनर, एन्स्ट फोरर, एल्बिन सेल्वर्ट, निमा दोर्ज र नवाङ दोर्ज पहिलो पटक धौलागिरिको चुचुरोमा पुगेका थिए ।

गण्डकी प्रदेशको पर्यटन तथा उद्योग मन्त्रालय, नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशको सहयोग र धौलागिरि गाउँपालिकाको समन्वयमा ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल(टान) गण्डकीको आयोजनामा धौलागिरिको फेदीमा रहेको मुदीमा दिवस मनाइएको हो ।

धवलागिरि गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले हिमाल अवस्थित वडाको भूगोलमा पहिलो पटक आरोहण दिवस मनाइएको बताए । ‘पहुँच र पहलको कमीले यसअघिका धौलागिरि आरोहण दिवस पोखरा र काठमाडौँमा मनाउने गरिएको थियो’, उनले भने, ‘धौलागिरि हिमालको पहिचान र म्याग्दीमा रहेको सन्देश प्रवाह गराउन यो कार्यक्रम सफल भएको छ ।’

आरोहण दिवसको अवसरमा पर्वतारोही कृष्ण केसीलाई टान गण्डकीले कदर पत्र प्रदान र दोसल्ला ओढाएर सम्मान गरेको छ । धौलागिरि हिमाल आरोहणबापत यस याममा सरकारले रु एक करोड ३४ लाख ५४ हजार ५५० सलामी दस्तुर सङ्कलन गरेको छ । यस यामका लागि कूल चार समूहमा १८ पुरुष र १२ महिला गरी ३० जनाले धौलागिरि अरोहणका लागि अनुमति लिएका पर्यटन विभागले जनाएको छ ।

अघिल्लो याममा यो हिमाल आरोहणका लागि ३६ जनाले अनुमति लिएका थिए । पर्यटन विभागका अभिलेखअनुसार ६६ वर्षको अवधिमा ७०० जना भन्दा बढीले धौलागिरि हिमाल आरोहण गरेका छन् ।

कार्यक्रममा धवलागिरी गाउँपालिका–४ का वडाध्यक्ष यामप्रसाद घर्ती र स्थानीय पर्यटन व्यवसायी गणेश घर्तीले सडकका कारण धौलागिरि चक्रीय पदमार्ग मासिएको तथा पर्वतारोहीहरू हेलिकप्टरबाट सिधै आधार शिविर पुग्न थालेपछि पदमार्ग सुनसान बनेको गुनासो गरे ।

गण्डकी प्रदेशका पर्यटन तथा उद्योगमन्त्री यसोदा रिमालले हिमालको संरक्षण र प्रवद्र्धनमार्फत रोजगारी र आयआर्जनको अवसर सिर्जनाका लागि सरकारले प्राथमिकता दिएको बताए ।

गण्डकी प्रदेशसभा सदस्य रेशम जुग्जालीले आन्तरिक पर्यटक लक्षित प्रवर्धन कार्यक्रम र नयाँ गन्तव्यको पहिचान, पूर्वाधार निर्माण र प्रवद्र्धनको आवश्यकतामा जोड दिए ।

पर्यटन बोर्ड गण्डकीका प्रमुख मणिराज काफ्ले, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाका प्रमुख मनहर कडरिया, पोखरा पर्यटन परिषद्का उपाध्यक्ष हरि भुजेल, टान गण्डकीका अध्यक्ष कृष्ण आचार्यले धौलागिरि, ढोरपाटन क्षेत्रलाई समेटेर नयाँ गन्तव्यको रूपमा विकास गर्न सम्भाव्यता अध्ययन, पूर्वाधार र सुरक्षामा जोड दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 4 =