सुकुम्बासी बस्तीमा मृत्यु घटनाको जिम्मेवारी सरकारले लिनुपर्छः खुश्बु ओली

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले सुकुम्बासी बस्तीमा डोजर चलाउने क्रममा दुई जना नागरिकको ज्यान गएको घटनाको नैतिक जिम्मेवारी सरकारले लिनुपर्ने बताएकी छन् ।

प्रतिनिधि सभाको सोमबारको बैठकमा बोल्दै प्रमुख सचेतक ओलीले उक्त घटनामा सरकार र सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी ले जिम्मेवारी लिनुपर्ने जिकिर गरिन् ।

उनका अनुसार बस्ती हटाउने कार्यअघि सुकुम्बासीहरूको लगत संकलन गरी उचित व्यवस्थापन गरिनुपर्नेमा त्यसो नगरी बल प्रयोग गरिएको हो ।

ओलीले सरकारले संसद छलेर अध्यादेश ल्याउने प्रवृत्ति बढाएको भन्दै आपत्ति जनाइन् । उनले प्रतिनिधि सभालाई कमजोर बनाउने र “कठपुतली” जस्तो व्यवहार गर्ने प्रयास भइरहेको आरोपसमेत लगाइन् । उनले भनिन्, “सुकुम्बासी बस्तीमा डोजर चलाउनु मानवीय संवेदनशीलताको गम्भीर असफलता हो । यसको नैतिक जिम्मेवारी सरकार र रास्वपाले लिनुपर्छ ।”

ओलीले सरकारले समयमै व्यवस्थापन नगरी बस्ती हटाउँदा गम्भीर त्रुटि भएको उल्लेख गर्दै प्रतिनिधि सभालाई बेवास्ता गरिएको भान परेको बताइन् ।

उनका अनुसार संसद सरकारको कठपुतली होइन र विधि तथा प्रक्रिया अनुसार मात्र निर्णय हुनुपर्ने आवश्यकता छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 19 =