देशभर ‘राष्ट्रिय सरसफाइ सप्ताह’ सुरु, वीर अस्पतालबाट अभियानको शुभारम्भ

काठमाडौं । सरकारले सरकारी निकाय तथा सार्वजनिक संस्थाहरूमा सरसफाइलाई संस्थागत गर्ने उद्देश्यसहित देशव्यापी ‘राष्ट्रिय सरसफाइ सप्ताह’ अभियान शुरु गरेको छ ।
सोमबार स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहताले वीर अस्पताल मा सरसफाइ कार्यक्रम सञ्चालन गर्दै अभियानको औपचारिक शुभारम्भ गरेकी हुन् ।
सरकारले सोमवारदेखि जेठ ८ गतेसम्म संघ, प्रदेश र स्थानीय तहअन्तर्गतका सरकारी कार्यालय, स्वास्थ्य संस्था तथा शैक्षिक संस्थामा सरसफाइ अभियान सञ्चालन गर्ने निर्णय गरेको जनाएको छ ।
कार्यक्रममा मन्त्री मेहताले सरसफाइलाई केवल अभियानका रूपमा नभई दैनिक व्यवहार र संस्कृतिको हिस्सा बनाउनुपर्नेमा जोड दिइन् । देशकै पुरानो तथा अत्यधिक सेवाग्राही चाप रहेको अस्पताल भएकाले वीर अस्पतालबाट अभियान सुरु गरिएको उनले बताइन् ।
उनले स्पताल सेवामा पछिल्लो समय सुधारको प्रक्रिया अघि बढिरहेको दाबी गर्दै बिरामी तथा स्वास्थ्यकर्मीबाट सकारात्मक प्रतिक्रिया प्राप्त भइरहेको जानकारी दिइन् । स्वास्थ्य मन्त्रालयको १०० बुँदे प्राथमिकतामा सरसफाइलाई पहिलो प्राथमिकतामा राखिएको उल्लेख गर्दै उहाँले अस्पतालका शौचालय, फ्लस प्रणाली, वार्ड, भुइँतला तथा अस्पताल परिसरको स्वच्छतामा विशेष निगरानी गरिएको बताइन् ।
मन्त्री मेहताले बिरामीको चाप व्यवस्थापन र सेवा प्रवाहलाई सहज बनाउन अस्पतालमा डिजिटाइजेशन प्रक्रिया अघि बढाइने पनि जानकारी दिइन् । ‘घर, बाटो, अस्पताल र कार्यालय— सबै ठाउँमा सरसफाइलाई दिनचर्यामा रूपान्तरण गर्नुपर्छ । वीर अस्पताल हाम्रो सबैभन्दा पुरानो अस्पताल भएकाले यहीँबाट अभियान सुरु गरेका हौँ’ उनले भनिन् ।
कार्यक्रममा वीर अस्पतालका उपसचिव हरी पंगेनीले सरकारले ‘सरसफाइ सप्ताह सञ्चालन सम्बन्धी मार्गदर्शक २०८३’ स्वीकृत गरिसकेको जानकारी दिए ।
उनकाअनुसार मार्गदर्शकमा कार्यालय सरसफाइ, शौचालय स्वच्छता, क्यान्टिन व्यवस्थापन, फोहोर व्यवस्थापन, सेवाग्राही सन्तुष्टि तथा संस्थागत अनुगमनलाई मुख्य सूचकका रूपमा समावेश गरिएको छ ।
सरकारी कार्यालय वरपर १०० मिटर क्षेत्रभित्रको सरसफाइसमेत सम्बन्धित कार्यालयकै जिम्मेवारीभित्र राखिएको उनले बताए । साथै, प्रत्येक कार्यालय प्रमुखले नियमित अनुगमन, मूल्यांकन तथा प्रतिवेदन प्रणाली लागू गर्नुपर्ने व्यवस्था गरिएको जानकारी दिँदै सरसफाइ अभियानलाई वर्षभरि निरन्तर सञ्चालन गरिने उल्लेख गरे ।
सरकारले अब सरकारी कार्यालयहरूमा रहेका सूचना बोर्ड, नागरिक वडापत्र तथा सङ्केत चिह्नहरूलाई थप स्पष्ट र व्यवस्थित बनाउने तयारी गरेको छ । साथै चर्किएका वा उक्किएका भित्ताहरूको मर्मत तथा रङ्गरोगन गरी सेवा क्षेत्र र प्रवेशद्वारलाई आकर्षक र सफा बनाइने जनाइएको छ ।








