विपद् व्यवस्थापन प्रभावकारी बनाउन बलियो कानूनी संरचना आवश्यक: रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले विपद् जोखिम न्यूनीकरण तथा प्रतिकार्य प्रणालीलाई प्रभावकारी बनाउन अझ बलियो कानूनी संरचना आवश्यक रहेको बताएका छन् ।

आइतबार काठमाडौंमा पार्टीले आयोजना गरेको ‘विपद् जोखिम न्यूनीकरण तथा जोखिम व्यवस्थापनसम्बन्धी नीति संवाद’ कार्यक्रममा बोल्दै लामिछानेले विपद् प्रतिकार्यका लागि सरकारी कोषमा पर्याप्त रकम भए पनि आवश्यक समयमा खर्च गर्न नसकिने अवस्था रहेको उल्लेख गर्दै कानूनी अवरोध हटाउनुपर्नेमा जोड दिए ।

उनले रास्वपाले विपद् प्रतिकार्य तथा व्यवस्थापनका लागि ‘¥यापिड एक्सन टिम’ गठन गर्ने तयारी गरिरहेको जानकारी पनि दिए । उनका अनुसार समुदाय र सुरक्षा निकायबीच प्रभावकारी समन्वय गरेर विपद् प्रतिकार्य प्रणालीलाई व्यवस्थित बनाउने लक्ष्य राखिएको छ । ‘पार्टीले विपद् प्रतिकार्य र व्यवस्थापनका लागि ¥यापिड एक्सन टिम बनाउने निर्णय गरेको छ । यसका लागि स्पष्ट निर्देशन पनि दिइएको छ र सोहीअनुसार काम भइरहेको छ । विपद् प्रतिकार्यलाई प्रभावकारी बनाउन कस्तो कानूनी व्यवस्था आवश्यक छ भन्ने विषयमा व्यापक छलफल हुनुपर्छ’ लामिछानेले भने ।

उनले विगतमा आफू गृहमन्त्री हुँदा विपद् व्यवस्थापनका विषयमा सबैभन्दा बढी छलफल भएको स्मरण गर्दै विपद् कोषमा रकम भए पनि तत्काल प्रयोग गर्न नसकिने प्रशासनिक समस्या रहेको बताए ।

“समस्या पैसा नभएको होइन, आवश्यक बेला त्यसलाई तत्काल परिचालन गर्न नसक्नु हो । कहिलेकाहीँ हस्ताक्षर गर्ने जिम्मेवार व्यक्ति नहुँदा पनि राहत तथा प्रतिकार्य प्रभावित हुन्छ,” उनले भने ।

सभापति लामिछानेले जोखिममा रहेका घर तथा बस्तीहरूको तथ्यांक संकलन गरेर पूर्वतयारीसहित प्रतिकार्य योजना बनाउनुपर्ने आवश्यकता पनि औँल्याए ।

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनमा सरकार, सुरक्षा निकाय, समुदाय र अन्य सरोकारवालाबीच प्रभावकारी सहकार्य र समन्वय अपरिहार्य रहेको उनको भनाइ थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + eleven =