व्यवसायीलाई अपराधीजस्तो व्यवहार गर्न बन्द गरियोस्: स्वाँर

काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजयबहादुर स्वाँरले यातायात व्यवसायीहरूलाई राज्यले अपराधीजस्तो व्यवहार गर्न बन्द गर्नुपर्ने बताएका छन् ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको सातौँ राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष स्वाँरले दुर्घटनापछिको अवस्थालाई लिएर व्यवसायीलाई पक्राउ गर्ने, थुन्ने र तर्साउने प्रवृत्तिले लगानीकर्ता निरुत्साहित भइरहेको बताए ।
उनले यातायात व्यवसायीहरू अपराधी नभई राज्यलाई अर्बौँ राजस्व तिर्ने जिम्मेवार नागरिक भएको उल्लेख गर्दै व्यवसायीप्रति राज्यले अभिभावकीय भूमिका निर्वाह गर्नुपर्ने माग गरे ।
अध्यक्ष स्वाँरले विद्यमान बीमा नीतिमा रहेका कमजोरीका कारण व्यवसायीहरू समस्यामा परेको उल्लेख गर्दै सरकारले फास्ट ट्र्याकबाट बीमा नीतिमा परिमार्जन गर्नुपर्ने बताए । बीमा प्रक्रिया पूरा गरिसकेपछि व्यवसायीले कानूनी उन्मुक्ति पाउने सुनिश्चितता हुनुपर्ने उनको माग थियो ।
उनले भने, ‘घरमा सुतिरहेको व्यवसायीलाई चोर वा अपराधीलाई जस्तै पक्राउ गरेर थाना लैजाने र बार्गेनिङ गर्ने काम बन्द हुनुपर्छ । हामी राज्यलाई अर्बौँ राजस्व बुझाउने जिम्मेवार नागरिक हौँ । त्यसैले राज्यले व्यवसायीलाई अभिभावकत्व प्रदान गर्नुपर्छ ।’
स्वाँरले निजी क्षेत्रको लगानीबिना राज्यको विकास सम्भव नरहेको जिकिर गर्दै यातायात क्षेत्रलाई व्यवस्थित उद्योगका रूपमा रूपान्तरण गर्नुपर्नेमा जोड दिए । उनले साझा यातायातजस्ता संस्थामा राज्यले अर्बौँ लगानी गरे पनि अपेक्षित प्रतिफल प्राप्त हुन नसकेको उल्लेख गर्दै देशभरका निजी व्यवसायीले आफ्नै लगानीमा सेवा दिइरहेको स्मरण गराए ।
उनले यातायात व्यवसायलाई केवल ‘गरिखाने माध्यम’ का रूपमा नभई मर्यादित उद्योगका रूपमा विकास गर्न राज्यले नीतिगत वातावरण तयार गर्नुपर्ने बताए ।
यातायात क्षेत्रको अधिकार प्रदेश तहमा पुगेको सन्दर्भमा अध्यक्ष स्वाँरले संघ, प्रदेश र स्थानीय तहबीच स्पष्ट नीतिगत समन्वय आवश्यक रहेको धारणा राखे । उनका अनुसार संघीय सरकारले राष्ट्रिय नीति निर्माण गर्ने, प्रदेश सरकारले कर तथा सुविधा निर्धारण गर्ने र स्थानीय तहले व्यवस्थापनको जिम्मेवारी लिने गरी कार्यविभाजन स्पष्ट हुनुपर्छ ।
महासंघको आगामी निर्वाचनबारे जानकारी दिँदै उनले यसपटक ‘ई–भोटिङ’ (विद्युतीय मतदान) प्रणालीमार्फत मतदान गराउने तयारी गरिएको पनि बताए ।








