बजेटले निजी लगानी र उत्पादकत्व वृद्धिमा जोड दिनुपर्छः अर्थसचिव डा. उपाध्याय

काठमाडाैं । अर्थ मन्त्रालयका सचिव डा. घनश्याम उपाध्यायले आगामी आर्थिक वर्षको बजेट निजी क्षेत्रको लगानी आकर्षित गर्ने, उत्पादकत्व बढाउने र रोजगारी सिर्जना गर्ने दिशामा केन्द्रित हुनुपर्ने बताएका छन् ।

बजेट तर्जुमाका सन्दर्भमा आयोजित एक छलफल कार्यक्रममा बोल्दै सचिव उपाध्यायले मुलुकमा राजनीतिक स्थिरतासँगै नयाँ आशा सञ्चार भएको अवस्थामा अर्थ मन्त्रालयले सोही अनुरूपको नीतिगत तयारी गरिरहेको जानकारी दिएका हुन् ।

सचिव उपाध्यायले सरकारी लगानीले निजी क्षेत्रको लगानीलाई प्रोत्साहित गर्नुपर्ने बताए । विगतमा जलविद्युत क्षेत्रमा सरकारले प्रसारण लाइन बनाइदिने र सिमेन्ट उद्योगसम्म पहुँच मार्ग पुर्याइदिने नीतिले ती क्षेत्रको विकासमा ठूलो टेवा पुर्याएको उदाहरण दिँदै उनले यस्ता सफल नीतिहरूलाई अन्य क्षेत्रमा पनि विस्तार गरिने बताए ।

अर्थतन्त्रको आगामी कार्यदिशाका लागि सचिव उपाध्यायले ‘५–डी’ को अवधारणा प्रस्तुत गरे । उनकाअनुसार लोकतन्त्र र सुशासनको लाभमार्फत आर्थिक वृद्धि गर्ने, ६२ प्रतिशत सक्रिय युवा जनशक्तिलाई राष्ट्र निर्माणमा परिचालन गर्ने र निजी क्षेत्रका कानूनी तथा प्रक्रियागत बाधा हटाउन ‘डि–रेगुलेसन’ गर्नु अहिलेको आवश्यकता हो । त्यसैगरी, प्रविधिको प्रयोगमार्फत तिब्र आर्थिक विकास हासिल गर्न डिजिटल सम्पती र ‘डिजिटाइजेसन’ मा लगानी बढाउनुपर्नेमा उनको जोड छ ।

उनले भने, ‘सरकारले गर्ने खर्चको अर्थ हुनुपर्छ । एक रुपैयाँ सरकारी खर्चले कति निजी लगानी आकर्षित गर्नसक्छ भन्नेमा हामी स्पष्ट हुनुपर्छ ।’

विदेशमा रहेका नेपालीहरूको सीप, पुँजी र ज्ञानलाई नेपालको सार्वजनिक पूर्वाधार र उत्पादनशील क्षेत्रमा जोड्नसके आर्थिक समृद्धि हासिल गर्न सहज हुने उनले उल्लेख गर्नुभयो । –न्युज एजेन्सी नेपाल

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − thirteen =