भारत र भियतनामबीच सन् २०३० सम्म २५ अर्ब डलरको व्यापारिक लक्ष्य निर्धारण

एजेन्सी । भारत र भियतनामले द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने उद्देश्यका साथ विभिन्न क्षेत्रमा समझदारीपत्रमा हस्ताक्षर गर्दै सन् २०३० सम्ममा २५ अर्ब अमेरिकी डलरको द्विपक्षीय व्यापार पुर्याउने नयाँ लक्ष्य निर्धारण गरेका छन् ।
भारतको तीन दिने राजकीय भ्रमणमा रहेका भियतनामी राष्ट्रपति तो लाम र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच बुधवार नयाँ दिल्लीमा भएको भेटवार्तापछि ती समझदारीहरू साझा गरिएका हुन् ।
दुई देशबीच वित्तीय नवाचार, सीमापार डिजिटल भुक्तानी, सांस्कृतिक सहयोग, दुर्लभ खनिज, समुद्र विज्ञान, औषधि विज्ञान, शिक्षा र पर्यटन प्रवद्र्धन जस्ता महत्वपूर्ण क्षेत्रहरूमा समझदारी भएको छ ।
यसैगरी, जनस्तरको सम्बन्धलाई थप प्रगाढ बनाउन भारतको मुम्बई र भियतनामको हो चि मिन्ह सिटीबीच ‘भगिनी सम्बन्ध’ (सिस्टर–सिटी) स्थापना गर्ने सम्झौतामा पनि हस्ताक्षर भएको छ ।
भेटका क्रममा दुवै राष्ट्रप्रमुखले आफ्नो द्विपक्षीय सम्बन्धलाई ‘बढाइएको वृहत रणनीतिक साझेदारी’ मा स्तरोन्नति गर्ने निर्णय गरेका छन् ।आर्थिक सम्बन्धलाई नयाँ उचाइमा पुर्याउन सन् २०३० सम्ममा २५ अर्ब अमेरिकी डलर बराबरको व्यापार गर्ने महत्वाकांक्षी लक्ष्य समेत दुवै पक्षले तय गरेका छन् ।








