अमेरिका र इरानबीच छिट्टै सम्झौता हुनेमा पाकिस्तान आशावादी

एजेन्सी । पाकिस्तानको परराष्ट्र मन्त्रालयले अमेरिका र इरानबीच हुन लागेको सम्भावित सम्झौता ‘यथाशीघ्र’ हुने विश्वास व्यक्त गरेको छ ।
साप्ताहिक पत्रकार सम्मेलनका क्रममा वासिङ्टन र तेहरानबीचको वार्ताका सम्बन्धमा सोधिएको प्रश्नको जवाफ दिँदै परराष्ट्र प्रवक्ता ताहिर हुसेन एन्द्राबीले उक्त धारणा राखेका हुन् ।
उनले भने, ‘हामी यी दुई देशबीच ढिलोभन्दा पनि चाँडो सम्झौता हुने अपेक्षा गर्दछौँ ।’ प्रवक्ता एन्द्राबीले दुई राष्ट्रबीचको संवादलाई अगाडि बढाउन पाकिस्तानले ‘इमानदार सहजकर्ता’को भूमिका निर्वाह गर्न तयार रहेकोसमेत बताए ।
‘एक इमानदार सहजकर्ता र मध्यस्थकर्ताको रूपमा प्राप्त हुने सूचनाहरूको गोपनीयता कायम राख्नु हाम्रो जिम्मेवारी हो र हामी त्यसको पूर्ण संरक्षण गर्नेछौँ’ उनले भने ।
पाकिस्तानले अमेरिका र इरानबीच हुने जुनसुकै सहमतिको स्वागत गर्ने बताउँदै वार्ता जुन स्थानमा भएपनि त्यसले सकारात्मक परिणाम ल्याउनुपर्नेमा जोड दिएको छ । यद्यपि, प्रवक्ता एन्द्राबीले वार्ताका लागि इस्लामावादलाई स्थलका रूपमा चयन गरिएमा त्यो पाकिस्तानका लागि सम्मान र गौरवको विषय हुनेसमेत उल्लेख गरे ।








