मस्कोको एक निर्माण स्थलमा भीषण आगलागी, सात जनाको मृत्यु

एजेन्सी । रुसको राजधानी मस्कोको उत्तरी क्षेत्रमा अवस्थित एक निजी निर्माण स्थलमा भीषण आगलागी हुँदा सात जनाको मृत्यु भएको छ । मस्कोका मेयर सेर्गेई सोब्यानिनले मंगलवार सामाजिक सञ्जाल टेलिग्राममार्फत यस दुःखद घटनाको पुष्टि गरेका हुन् ।
मेयर सोब्यानिनकाअनुसार मस्कोको ‘एरोपोर्ट’ जिल्लामा रहेको उक्त निर्माण स्थलमा आगलागी भएको हो । घटनाको जानकारी पाउनासाथ आपतकालीन सेवाका सदस्यहरू र चिकित्सा टोलीहरू घटनास्थलमा परिचालन गरिएको उनले बताएका छन् ।
रुसी समाचार एजेन्सी ‘तास’ले आपतकालीन सेवाका अधिकारीहरूलाई उद्धृत गर्दै जनाएअनुसार उक्त दुर्घटनामा अन्य १३ जना घाइते भएका छन् । करिब १ हजार ४ सय वर्ग मिटर क्षेत्रमा फैलिएको उक्त आगोलाई लामो प्रयासपछि नियन्त्रणमा लिइएको थियो ।
सुरक्षा नियमहरूको सम्भावित उल्लंघनका कारण आगलागी भएको आशंका गर्दै अनुसन्धानकर्ताहरूले यस सम्बन्धमा आपराधिक मुद्दा दर्ता गरेका छन् । घटनाको विस्तृत छानबिन र क्षतिको यकिन विवरण संकलन गर्ने कार्य भइरहेको समाचारमा उल्लेख छ ।








