मलेसियाको उत्पादक मूल्य सूचकांकमा १.७ प्रतिशतको गिरावट

एजेन्सी । कृषि र उत्पादन क्षेत्रमा आएको मन्दीका कारण सन् २०२६ को पहिलो त्रैमासिकमा मलेसियाको उत्पादक मूल्य सूचकांक (पिपिआई) मा १.७ प्रतिशतको गिरावट आएको छ ।
सोमवार सार्वजनिक गरिएको सरकारी तथ्याङ्कअनुसार अघिल्लो त्रैमासिकमा १.५ प्रतिशतले घटेको यो सूचकांकमा गिरावटको क्रम थप विस्तार भएको हो । मलेसियाको तथ्याङ्क विभागद्वारा जारी विज्ञप्तिअनुसार कृषि, वन र मत्स्यपालन क्षेत्रमा ७.५ प्रतिशत तथा उत्पादन (म्यानुफ्याक्चरिङ) क्षेत्रमा १.७ प्रतिशतको संकुचन आएका कारण समग्र पिपिआईमा दबाब परेको हो ।
यसको विपरित खानेपानी आपूर्ति क्षेत्रमा सबैभन्दा बढी ११.१ प्रतिशतको वृद्धि देखिएको छ । त्यसैगरी विद्युत तथा ग्यास क्षेत्रमा ६.५ प्रतिशत र खानी क्षेत्रमा १.६ प्रतिशतको बढोत्तरी भएको तथ्याङ्कले देखाएको छ ।
त्रैमासिक आधारमा (अघिल्लो त्रैमासिकको तुलनामा) भने पिपिआई ०.९ प्रतिशतले बढेको छ, जुन यसअघिको ०.१ प्रतिशतको वृद्धिको तुलनामा तिब्र हो । त्रैमासिक वृद्धिलाई विशेषगरी खानी क्षेत्रमा देखिएको ११.५ प्रतिशतको बढोत्तरी र उपयोगिता (यूटिलिटी) क्षेत्रको सुधारले सहयोग पुर्याएको छ ।
यसैबीच, मार्च महिनाको तथ्याङ्क हेर्दा पिपिआई वार्षिक रूपमा १.१ प्रतिशतले बढेको छ । यो फेब्रुअरी महिनामा देखिएको ३.४ प्रतिशतको गिरावटको तुलनामा उल्लेख्य सुधार हो ।








