सरोकारवालासँग छलफल नगरी विधेयक अघि बढ्दैन: दाहाल

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले कुनैपनि विधेयक सम्बन्धित पक्षसँग छलफल नगरी अघि नबढने बताएका छन् ।
साना तथा मझौला व्यवसायीहरुको संगठन नेपाल राष्ट्रिय व्यवसायी महासंघले आईतवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले कुनैपनि विधेयक सरोकारवालाहरुसँग छलफल गरेर मात्रै अघि बढाउने प्रणालीको बलजफ्ती शुरुवात गर्न आफूहरु सफल भएको बताएका हुन् । ‘तपाईहरुलाई अनौठो लाग्नसक्छ । बलजफती हामीले केसम्म अहिले गर्न सकेका छौ भने कुनैपनि विधेयक आयो र छलफल गर्दाखेरी सम्बन्धित सरोकारवालालाई ल्याएर त्यो विधेयकको छलफल को पहिलो दिन नै सरोकारवालाका समस्याहरु, उनीहरुका भावनाहरु, उनीहरुको मनोविज्ञानहरुलाई समेट्नुपर्छ भन्ने एउटा सिष्टमको अहिले शुरुवात भएको छ’ उनले भने ।
अध्यक्ष दाहालले सरोकारवालाहरुको समस्या, भावना र मनोविज्ञान अनुसार नै संसदमा विधेयकलाई अघि बढाइने आश्वासन समेत दिए । उनले संसदमा विधेयक आउँदा जसरी आएको भएपनि संसदमा त्यसको विषयमा गम्भिरतापूर्वक छलफल गरेर टुंगो लगाइने पनि बताए । ‘जसले सरोवालाहरुसँग छलफल नगरी विधेयक अगाडि बढ्दैन । तर त्यो बन्दाखेरी कताकताबाट बन्छ भन्ने स्थिति छ । मन्त्रीलाई सोध्यो आएको छ, मैले त प्रश्तुत गरेँ भनेको हुन्छ । यस्तै अवस्था छ’ उनले भने ।
अध्यक्ष दाहालले संसदमा ४० प्रतिशत भन्दा बढि युवाहरुको प्रतिनिधित्व हुनु गर्वको विषय भएको पनि बताए ।








