सुकुम्वासीलाई अनुरोध गरेर सुरक्षित ठाउँमा स्थानान्तरण गर्छौंः मन्त्री पोखरेल

काठमाडौँ । शिक्षा, विज्ञान तथा सूचना प्रविधि मन्त्री सस्मित पोखरेलले सरकार सुकुम्वासीको विषयलाई राजनीतिक मुद्दा बनाउने पक्षमा नरहेको स्पष्ट पार्नुभएको छ ।
शुक्रवार मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री पोखरेलले सुकुम्वासीको विषयलाई राजनीतिक मुद्दा बनाउने नभई उनीहरूको दीर्घकालीन समाधानका लागि सरकार लागिपरेको स्पष्ट पारेका हुन् ।
उनले सुकुम्वासी बस्तीमा जबरजस्ती डोजर प्रयोग नगर्ने पनि बताए । उनले बाढी तथा विपद्को जोखिममा रहेका बस्तीका बासिन्दालाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न सरकारले आग्रहमार्फत अघि बढ्ने बताए । सुकुम्वासी बस्ती हटाउने नाममा बल प्रयोग गर्ने योजना सरकारको नरहेको उनको भनाइ छ । विभिन्न सुकुम्वासी बस्तीमा बाढी आएपछि नागरिकहरू सरसामान छाडेर भाग्नुपर्ने अवस्था देखिएकाले पूर्वतयारीस्वरूप सुरक्षित स्थानमा सार्ने प्रक्रिया अघि बढाइएको स्पष्ट पारे ।
उनले भने ‘हामीले जबरजस्ती प्रहरीको बल प्रयोग गरे डोजर लगाउने योजना छैन । हामी उहाँहरूलाई अनुरोध गरेर त्यताबाट सेफ ठाउँमा सार्नको लागि सरकारले अगाडि बढाइरहेको हो । हामीले यसभन्दा अगाडि पनि विपद्को पूर्वतयारी हुनुन्थ्यो । अब विपद्को पूर्वतयारीका लागि स्थानान्तरण गरिरहेका हौँ । हामी सुकुम्वासीको विषयमा राजनीति गर्ने पक्षमा छैनौँ । सरकार सुकुम्वासीको दीर्घकालीन समाधानको लागि अघि बढेको हो ।’
मन्त्री पोखरेलले सरकारले प्रहरी परिचालन गरेर जबरजस्ती डोजर चलाउने नीति नलिएको स्पष्ट पार्दै अनुरोध र सहमतिका आधारमा स्थानान्तरण गरिने दाबी पनि गरे ।
फरक प्रसङ्गमा बोल्दै उनले सरकारले संसदलाई पर्याप्त बिजनेस दिनका लागि यसअघि बोलाएको संसद्को अधिवेशन स्थगित गर्न सिफारिस गरेको बताए । उनले अध्यादेशमार्फत कानुन निर्माण गर्ने पक्षमा सरकार नरहेको पनि स्पष्ट पारे ।









