मन्त्रालयको इज्जतका लागि राजीनामा दिएँ: सुधन गुरुङ

काठमाडौँ । सम्पत्ति तथा सेयर कारोबारको विषय विवादमा आएपछि सुधन गुरुङले मन्त्रालयको इज्जत जोगाउन आफूले गृहमन्त्री पदबाट राजीनामा दिएको बताएका छन् ।
राजीनामा दिएपछि बुधवार मन्त्रालयका कर्मचारीलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । ‘तपाईँहरूको क्षमतादेखि म निकै खुसी छु । तपाईँहरूको क्षमतालाई मैले बाहिर ल्याउने काम मात्रै गरेको हुँ,’ उनले भने ।
गुरुङले आफूलाई सहयोग गर्ने कर्मचारीलाई धन्यवाद समेत दिएका छन् । उनले गृहमन्त्रीको हैसियतमा जुन काम गरिएको थियो त्यसको हकदार कर्मचारी नै हुने उनको भनाई थियो । ‘मलाई सहयोग गरेकोमा धन्यवाद दिन चाहन्छु । जुन स्पिरिटले काम गरिएको थियो, त्यसको तपाईँहरू नै हकदार हो । तपाईँहरूको र मन्त्रालयको इज्जतका लागि पनि मैले नैतिकताका आधारमा राजीनामा दिएको हुँ’ उनले भने ।
गुरुङको राजीनामालाई धेरैले सकारात्मक रूपमा लिएका छन् । आरोप लागेपछि नैतिकता देखाउँदै पदबाट अलग भएर अनुसन्धानका लागि बाटो खुला गर्नुलाई धेरैले उचित कदम मानेका छन् ।









