नेपाली कम्युनिष्ट पार्टीको स्थापना दिवस

महाधिवेशनबाट युवा नेतृत्वलाई प्राथमिकता दिन्छौँ: संयोजक दाहाल

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले आगामी असोज महिनामा पार्टीको महाधिवेशन गरी युवालाई नेतृत्व सुम्पिने योजना रहेको बताएका छन् ।

बुधवार पार्टी केन्द्रीय कार्यालयमा आयोजित नेपाली कम्युनिष्ट पार्टीको स्थापना दिवसलाई सम्बोधन गर्दै उनले यस्तो बताएका छन् ।

संयोजक दाहालले पार्टीभित्र हुर्केका गलत प्रवृत्तिहरूलाई फोहोरमैलाको संज्ञा दिँदै त्यसलाई सफा गरेर अघि बढ्ने उद्घोष गरे । उनले जनताको घृणाले नभई नुहाई धुवाइ गरेर आऊ भनी जनताले सवक सिकाएको रूपमा पछिल्ला निर्वाचन परिणामहरूलाई बुझ्नुपर्ने बताए ।

आगामी असोजभित्र सम्पन्न हुने महाधिवेशनले तलदेखि माथिसम्म युवा र गतिशील नेतृत्वलाई स्थापित गर्ने उनको योजना छ । पुराना पुस्ताले नयाँ भूमिका खोज्नुपर्ने र नयाँ पुस्तालाई जिम्मेवारी दिनुपर्ने वैचारिक बहस पार्टीमा चलिरहेको उनले जानकारी दिए । दाहालकाअनुसार सच्चिने सङ्कल्प गर्नेहरू मात्र पार्टीमा रहने र रडाको गर्नेहरू बाहिरिए पनि फरक नपर्ने कठोर नीति अब अवलम्बन गरिनेछ ।

उनले भने ‘हामीले विगतमा कहीँ न कहीँ केही न केही त्रुटि गरेकै छौँ । हामी अहिले त्यसको आत्मचिन्तन, आत्ममन्थनमा छौँ । तपाईँहरूलाई थाहा छ हामी अहिले पार्टीको त्यस्तै बैठकमा बडो खुलस्त ढङ्गले सबै कमरेडलाई आफूलाई लागेका विचारहरू राख्ने अवसरको रूपमा किनभने यो ऐतिहासिक मोडमा हामी छौँ। जनताले हामीलाई केही न केही सबक सिकाउन खोजेको छ। जनताले सिकाउन खोजेका ती शिक्षालाई हामीले ग्रहण गर्ने अवसरको रूपमा लिनुपर्दछ। त्यसकारण हामी त्यही प्रक्रियामा छौँ। म अहिले अरू लामो व्याख्या नगरीकन हामी कुन ओरिएन्टेसनतिर जाँदै छौँ त, पहिला आफ्नै पार्टीका कमीकमजोरी सच्याएर यसलाई पुनर्गठन गर्ने, नयाँ युवाहरूलाई प्राथमिकताका साथ आउने महाधिवेशनसम्म जाँदा तलदेखि माथिसम्म युवा र गतिशील नेतृत्वलाई प्राथमिकता दिने, हामी पुराना पुस्ताकाले पनि कुनै न कुनै भूमिका भएपनि अहिलेसम्म खेलेको रूप र भूमिकालाई नयाँ रूप र भूमिकामा प्रस्तुत गर्ने गरी छलफल गर्दै छौँ र हामी महाधिवेशन ६ महिनाभित्र हामीले भनेका छौँ । सकेसम्म आउने असोजभित्र महाधिवेशन सम्पन्न गर्ने र नयाँ ढङ्गले यो पार्टीलाई पुनर्गठन गर्ने प्रक्रिया सुरु भएको छ। पहिलो। दोस्रो हामीले यो बदलिएको देशको राजनीतिक जटिल परिस्थितिमा वामपन्थी र कम्युनिस्ट आन्दोलनको समग्र रूपान्तरण र पुनर्गठन पनि आवश्यक छ ।’

कम्युनिष्ट आन्दोलनको पुनर्गठन आफ्नो मुख्य प्राथमिकता रहेको उनले बताए । देशमा छरिएर रहेका विभिन्न कम्युनिष्ट घटकहरूलाई एउटै केन्द्रमा ल्याउन आफूले पहल सुरु गरिसकेको जानकारी दिए ।

संविधान सभा, सङ्घीय लोकतान्त्रिक गणतन्त्र र समावेशी प्रणालीको रक्षाका लागि सबै परिवर्तनकारी शक्तिहरू एक ठाउँमा उभिनु पर्ने उनको तर्क छ । उनले आगामी असोजभित्र पार्टीको महाधिवेशन सम्पन्न गरी नयाँ संरचनामा जाने र वामपन्थी एकतालाई निष्कर्षमा पुर्याउने दाबी समेत गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 2 =