एमाले सचिव महेश बस्नेतले मागे गृहमन्त्री गुरुङको राजीनामा

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सचिव महेश बस्नेतले गृहमन्त्री सुधन गुरुङको तत्काल राजीनामा माग गरेका छन् ।
व्यवसायी दीपक भट्ट सँग जोडिएको ‘स्टार माइक्रो इन्स्योरेन्स’ कम्पनीमा गृहमन्त्रीको सेयर रहेको कागजात सार्वजनिक भएपछि चौतर्फी रूपमा राजीनामा र छानबिनको माग उठिरहेका बेला बस्नेतले सामाजिक सञ्जालमार्फत् दबाब दिएका हुन् ।
गृहमन्त्री गुरुङ र भट्टबीच २५ लाख रुपैयाँ बराबरको सेयर स्वामित्व रहेको दाबी गर्दै बस्नेतले निष्पक्ष छानबिनका लागि पदबाट बाहिरिनुपर्ने बताएका छन् ।
यसअघि विभिन्न मिडिया र बालेन शाह का समर्थकहरूले भट्टको नाम केपी शर्मा ओली, पुष्पकमल दाहाल र शेरबहादुर देउवा सँग जोडेर बदनाम गर्न खोजेको आरोपसमेत बस्नेतले लगाएका छन् । यद्यपि, अनुसन्धानका क्रममा ती नेताहरूको संलग्नता नदेखिएको उनको जिकिर छ ।
बस्नेतले गृहमन्त्री गुरुङलाई बालेन शाह निकट व्यक्ति भएको उल्लेख गर्दै भट्टसँगको आर्थिक सम्बन्ध सार्वजनिक भएको दाबी गरेका छन् ।
यसैबीच, उनले कार्की आयोगका सदस्य विज्ञान राज शर्माको नाममा समेत १० लाख रुपैयाँ बराबरको सेयर फेला परेको दाबी गरेका छन् ।
व्यवसायी भट्ट दोषी भए वा नभएको निर्णय न्यायालयले गर्ने भन्दै बस्नेतले गृहमन्त्री गुरुङले तत्काल राजीनामा दिएर छानबिनमा सहयोग गर्नुपर्ने बताएका छन् । पद नत्यागे गम्भीर परिणाम भोग्नुपर्ने चेतावनीसमेत उनले दिएका छन् ।









