नेपाल–स्लोभेनिया व्यापार सहकार्य विस्तारमा जोड

काठमाडौँ। नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ र नेपालका लागि स्लोभेनियाका आवासीय राजदूत टोमाज मेन्सिनबीच काठमाडौँस्थित महासङ्घ सचिवालयमा भेटवार्ता भएको छ। भेटमा नेपाल र स्लोभेनियाबीच व्यापार तथा लगानी विस्तारका सम्भावनाबारे छलफल गरिएको हो।

भेटका क्रममा दुई देशबिच आर्थिक सहकार्य विस्तारका लागि पर्याप्त सम्भावना रहेको उल्लेख गर्दै सम्बन्धलाई थप सुदृढ बनाउन पहल आवश्यक रहेकोमा दुवै पक्षले जोड दिएका छन्। वरिष्ठ उपाध्यक्ष श्रेष्ठले स्लोभेनियालाई सम्भावनायुक्त आर्थिक साझेदारका रूपमा लिँदै द्विपक्षीय सम्बन्धलाई आगामी दिनमा नयाँ उचाइमा पुर्‍याउने विश्वास व्यक्त गरेका छन्।

उनले नेपालमा पछिल्लो समय बाह्य लगानी आकर्षित गर्न नीतिगत सुधारहरू भएको र बहुमतको स्थायी सरकार बनेसँगै नीतिगत स्थायित्व कायम हुनेमा निजी क्षेत्र आशावादी रहेको बताए। यस परिप्रेक्ष्यमा व्यवसाय–व्यवसाय (बीटुबी) सहकार्य, व्यापार भ्रमण तथा संयुक्त प्लेटफर्ममार्फत सम्बन्ध विस्तार गर्न महासङ्घ तयार रहेको उनको भनाइ थियो।

राजदूत मेन्सिनले नेपाल र स्लोभेनियाबीच सौहार्दपूर्ण सम्बन्ध रहेको उल्लेख गर्दै आर्थिक साझेदारीलाई थप मजबुत बनाउन सकिने धारणा राखेका छन्। स्लोभेनियाली नागरिकले नेपाललाई हिमालयको काखमा रहेको आकर्षक गन्तव्यका रूपमा चिन्ने र भ्रमणप्रति रुचि राख्ने बताउँदै उनले प्रविधि हस्तान्तरण, नवप्रवर्तन तथा संयुक्त लगानीका क्षेत्रमा सहकार्य बढाउन सकिने सम्भावना औँल्याए।

उक्त भेटमा नेपालका लागि स्लोभेनियाका अवैतनिक महावाणिज्यदूत हरिभक्त शर्माको पनि सहभागी थियो। नेपाल र स्लोभेनियाबीच सन् १९९७ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 − 5 =