चलचित्र उद्योग नियमनका लागि संसदमा विचाराधीन विधेयक बलियो हतियार हुनसक्छ: अध्यक्ष दाहाल

काठमाडौँ । चलचित्र विकास बोर्डका अध्यक्ष दिनेशराज दाहालले बोर्डका सबै सेवा तथा कार्य अनलाइनमार्फत सञ्चालन भइरहेको बताएका छन् ।
सोमवार चलचित्र पत्रकार संघको नवनिर्वाचित कार्यसमितिलाई बधाई ज्ञापन समारोहलाई काठमाडौँमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
बोर्डले दिने ३३ प्रकारका सेवाहरू अनलाइनमार्फत लिन सकिने उनको भनाइ छ । अध्यक्ष दाहालले चलचित्र उद्योगलाई पारदर्शी र व्यवस्थित बनाउन रियल टाइम ‘बक्स अफिस’ प्रणाली लागू गरिएको समेत उल्लेख गरे । उनले चलचित्र क्षेत्रलाई प्रविधिमैत्री र उत्तरदायी बनाउने बोर्ड प्रयासरत रहेको बताए ।
उनले चलचित्रसम्बन्धी विधेयक राष्ट्रिय सभाबाट पारित भइसकेको उल्लेख गर्दै प्रतिनिधि सभाबाट संसदको आउँदो अधिवेशनबाट पारित हुने विश्वास समेत व्यक्त गरे । उनले चलचित्र क्षेत्रलाई नियमन गर्न चलचित्रसम्बन्धी उक्त विधेयक बलियो हतियार हुने दाबी पनि गरे । उनले चलचित्र पत्रकार संघका पदाधिकारीहरूलाई बोर्डले गरिरहेको कामकारबाहीको बारेमा जानकारी गराउँदै आपसी समन्वय र सहकार्यमार्फत चलचित्र क्षेत्रको विकासमा लाग्नुपर्नेमा जोड दिए ।
उनले भने ‘अहिले हामीले रियल टाइम बक्स अफिसबाट चलचित्रको आमदानीका विषयहरू सार्वजनिक गर्दै आइरहेका छौँ । केहीले खालि एप मात्र बनायो त्यसले प्रभावकारी काम गर्न सकेन पनि भन्छन् । अहिले हामीले त्यसमा अरू ३३ वटा कामहरू पनि गरिरहेका छौँ । त्यसको हामी औपचारिक रूपमा चाँडै नै औपचारिक रूपमा उद्घाटन गर्छौँ । चलचित्र विधेयक पनि राष्ट्रिय सभाबाट पारित भइसकेको तपाईँहरूलाई थाहा नै होला । अहिले संघीय संसदको तल्लो सदनमा समेत यसमाथि छलफल सुरु भइसकेको छ । सम्भवतः संसदको बर्खे अधिवेशनमा यो विधेयक पास हुनेछ । त्यसले ५६ वर्षपछि चलचित्र उद्योगलाई नियमन गर्ने एउटा हतियार पाउनेछ । हामीले नेपालको इतिहासमा रेकर्ड ब्रेक कारोबार गर्ने २५ चलचित्रलाई हामीले सम्मान गर्यौँ । यसमा हामीले चलचित्रको वास्तविक कमाई र सरकारलाई कर बुझाएको कुराको समेत अनुगमन गरेर पारदर्शी रूपमा सम्मान गरेका हौँ । अहिले हामीले बोर्डबाट ३३ वटा सेवा दिने गरेका छौँ । सबै सेवाहरू अहिले अनलाइनबाटै डिजिटल रूपमै गर्न पाइने व्यवस्था गरेका छौँ ।’
उनले चलचित्र पत्रकार संघको नवनिर्वाचित कार्यसमिति सफल कार्यकालको शुभकामना समेत व्यक्त गरे ।








