राष्ट्रिय सभा समितिद्वारा तीन उपसमिति पुनर्गठन

काठमाडौं । राष्ट्रिय सभाअन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिले तीनवटा संसदीय उपसमितिहरू पुनर्गठन गरेको छ ।
सोमवार सिंहदरबारमा बसेको समितिको बैठकले संघीयता सबलीकरण, अन्तर्राष्ट्रिय सम्बन्ध तथा राष्ट्रिय सुरक्षा र सामाजिक न्याय क्षेत्रका गरी तीन वटा उपसमितिहरू पुनर्गठन गरेको समिति सभापति जयन्तीदेवी राईले बताइन् ।
उनकाअनुसार संघीयता सबलीकरण उपसमितिको संयोजकको जिम्मेवारी श्रीकृष्णप्रसाद अधिकारीलाई दिइएको छ । उक्त समितिको सदस्यहरुमा उदय बोहरा, किरणबाबु श्रेष्ठ र सोनाम गेल्जेन शेर्पा रहेका छन् ।
अन्तर्राष्ट्रिय सम्बन्ध तथा राष्ट्रिय सुरक्षा उपसमितिको संयोजकमा विष्णुकुमारी सापकोटा चयन भएका छन् भने उक्त उपसमितिमा नारायणदत्त मिश्र, ललितजंग शाही र दुर्गाकुमारी गुरुङ सदस्य रहेकी छन् ।
सभापति राईले सामाजिक न्याय उपसमितिको संयोजकमा रोशनी मेचे रहेको बताइन् । उक्त उपसमितिका सदस्यहरूमा धर्मेन्द्र पासवान र मनरुपा शर्मा रहेकी छन् ।
सभापति राईले पुनर्गठित संसदीयउपसमितिहरूले संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकारसँग सम्बन्धित विभिन्न कार्यक्षेत्रको अध्ययन गरी प्रतिवेदन तयार पार्नेछन् ।









