विद्यार्थी संगठनमाथि रोकको निर्णयप्रति ज्ञवालीको आपत्ति, भने– ‘चरम अलोकतान्त्रिक कदम’

काठमाडौं । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले विश्वविद्यालयहरूमा विद्यार्थी संगठनका गतिविधि र उपस्थितिमाथि रोक लगाउने निर्णयको कडा विरोध गरेका छन् ।
सोमबार सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै उनले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को अधिकार खोस्ने कदमलाई ‘चरम अलोकतान्त्रिक’को संज्ञा दिएका हुन् ।
विश्वविद्यालयभित्र ‘सुरक्षा युनिट’ स्थापना गर्ने तयारीप्रति आपत्ति जनाउँदै ज्ञवालीले यसलाई प्राज्ञिक स्वायत्ततामाथिको ठाडो हस्तक्षेप बताएका छन् । पञ्चायती निरंकुशताको समयमा समेत यस्तो निर्णय हुन नसकेको उल्लेख गर्दै उनले विश्वविद्यालयका उपकुलपतिहरूले यस्तो कदममा हस्ताक्षर गरेकोप्रति प्रश्न उठाएका छन् ।
विद्यार्थी आन्दोलनभित्र रहेका कमजोरीलाई स्वीकार गर्दै ज्ञवालीले यसले आम विद्यार्थीको हित, शैक्षिक गुणस्तर अभिवृद्धि र स्वस्थ वातावरण निर्माणमा ‘क्याटालिस्ट’को भूमिका खेल्नुपर्ने बताए । तर, बेलाबेला आन्दोलन मूल मुद्दाबाट विचलित हुने गरेको उनको भनाइ छ ।
कमजोरीकै आधारमा विद्यार्थी संगठनलाई निषेध गर्नु समाधान नभएको उल्लेख गर्दै उनले संवाद, रचनात्मक सहकार्य र रूपान्तरणमार्फत समस्या समाधान खोज्नुपर्नेमा जोड दिएका छन् । सरकारको कदमप्रति प्रतीकात्मक प्रश्न गर्दै उनले भनेका छन्, “के तपाईँ कपालमा चायाँ पर्यो भनेर गर्धन नै छिनाउनु हुन्छ ?”









