सार्वजनिक सवारी साधनको भाडा नबढाए चुप नबस्ने कावा अध्यक्ष सिटौलाको चेतावनी

काठमाडाैं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका कार्यवाहक अध्यक्ष पुण्यप्रसाद सिटौलाले वैज्ञानिक भाडा समायोजन प्रणालीअनुसार इन्धनको मूल्य बढ्दा भाडा पनि स्वतः समायोजन हुनुपर्ने व्यवस्थाको कार्यान्वयन गर्न माग गरेका छन् ।

पेट्रोलियम पदार्थको मूल्य बारम्बार बढ्दासमेत भाडा समायोजना नहुँदा यातायात व्यवसायी मारमा परेको उनको भनाइ छ । उनले डिजेलमा दुई पटक गरी ५५ रुपैयाँ वृद्धि भएको र पेट्रोलको मूल्यमासमेत वृद्धि भइरहेको अवस्थामा बागमती प्रदेशले मात्रै भाडा समायोजन गरेको उल्लेख गरे ।

वार्षिक रूपमा हुने भनिएको भाडा समायोजन प्रक्रिया अब प्रभावहीन भइसकेको उनको जिकिर छ । उनले हवाई क्षेत्र र नेपाल आयम निगमजस्तै स्वचालित भाडा समायोजन प्रणालीको पुनरावलोकन गरी प्रभावकारी कार्यान्वयनमा ल्याउन माग गरे । उनले पेट्रोलियम पदार्थमो मूल्यमा गिरावट आउँदा सरकारले सोहीअनुसार मूल्य समायोजन गर्दापनि व्यवसायीलाई स्वीकार्य भएको पनि बताए ।

उनले भने, ‘वार्षिक रूपको समायोजन हुनुपर्ने भाडा पनि र भर्खरै २५ रुपैयाँ बढेको अवस्थामा बागमती प्रदेशले समायोजन गरेको अवस्था छ । हामीले स्वचालित प्रणालीमार्फत भाडा समायोजन हुने प्रणाली बनाउन माग गरेका छौँ । हिजोको दिनमा अस्थीर सरकार र राजनीतिक परिस्थितिको कारण पनि त्यसले प्रभावकारी काम गर्न सकेन । अहिले पनि आयल निगममा स्वचालित प्रणाली छ । राति १२ बजेबाट शुरु भइहाल्छ । त्यसैगरी हवाई सेवामा पनि त्यहीअनुसारको स्वचालित प्रणाली बनाएर काम गरिरहेको अवस्था छ । तर सडक यातायातमा विभेद भइरहेको छ । यस प्रकारको विभेद अन्त्य गर्नको लागि हामीले बारम्बार प्रश्न गरिरहेका छौँ ।’

सातामा दुई दिन सार्वजनिक बिदा दिँदा पनि अपेक्षित रूपमा इन्धन खपत घटाउन सकेन

कार्यवाहक अध्यक्ष सिटौलाले पेट्रोलियम पदार्थ आपूर्ति सहज बनाउने सातामा दुई दिन बिदा दिने निर्णय गरेपनि त्यसले रूपमा इन्धन खपत घटाउन नसकेको जिकिर गरे । उनले सरकारी निकायमा दुई दिन सार्वजनिक बिदा दिँदा सरकारी कर्मचारी, विद्यार्थी, पेशाकर्मी लगायतले खपत घटाउनुको सट्टा झन धेरै खपत गरेको उनको भनाइ छ ।

उनले सरकारले सातामा दुई दिन बिदा दिने निर्णयको समिक्षा गर्नुपर्नेमा जोड दिए । इन्धन खपत कम गर्न विद्युतीय बाहेकका निजी सवारी साधनहरुमा जोर बिजोर प्रणाली लागू गर्नुपर्ने उनकाे सुझाव छ । उनले इन्धन अभाव हुँदासम्म निजी सवारी साधनमा जोर–बिजोर प्रणाली लागू गर्नसके सार्वजनिक यातायात र इन्धन आपूर्तिमासमेत सहज हुने उनको बुझाई छ ।

उनले सार्वजनिक सवारी साधनको भाडा सरकारले समायोजन नगरे व्यवसायी चुप लागेर नबस्ने चेतावनी दिएका छन् । –न्युज एजेन्सी नेपाल

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 2 =