अनधिकृत पत्र प्रकरण : महिमानसिंह विष्टलाई ६ महिना कैद र १० हजार जरिवाना

काठमाडौं । सर्वोच्च अदालतमा कार्यरत रहँदा अनधिकृत पत्र लेखेको अभियोगमा महिमानसिंह विष्टलाई जिल्ला अदालत काठमाडौंले ६ महिना कैद सजाय सुनाएको छ ।

जिल्ला अदालत काठमाडौंका न्यायाधीश खिमानन्द भुषालको इजलासले बिहीबार उक्त फैसला सुनाएको हो । अदालतका शाखा अधिकृत हेमन्त भट्टराईका अनुसार विष्टलाई १० हजार रुपैयाँ जरिवाना समेत तोकिएको छ ।

यसअघि चैत २२ गते नै सोही इजलासले विष्टलाई उक्त कसुरमा दोषी ठहर गरेको थियो । सर्वोच्च अदालतमा शाखा अधिकृतका रूपमा कार्यरत रहेका विष्टले अनधिकृत रूपमा पत्र लेखेको पुष्टि भएको थियो ।

उक्त पत्रकै आधारमा प्रहरीले नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशमलाल चौधरीलाई पक्राउ गरेको थियो । तर पक्राउपछि केही समयमै सो पत्र अनधिकृत भएको खुलासा भएको थियो ।

घटनापछि सर्वोच्च अदालत प्रशासनले नै उक्त पत्रको वैधतामाथि प्रश्न उठाउँदै अनुसन्धानको माग गरेको थियो । त्यसपछि विष्टलाई नियन्त्रणमा लिएर लिखत सम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको थियो ।

अनुसन्धानकै क्रममा उनलाई पुर्पक्षका लागि एक लाख रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश पनि अदालतले दिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × four =