यस्तो देखियो कान्तिभैरव सिन्दुर जात्रा (तस्बिरहरू)

काठमाडौं । काठमाडौंको गोकर्णेश्वर क्षेत्रमा मनाइने कान्तिभैरव जात्राअन्तर्गत सिन्दूर जात्रा सम्पन्न भएको छ । हरेक वर्ष वैशाख कृष्ण चतुर्दशीदेखि वैशाख शुक्ल तृतीया (अक्षय तृतीया)सम्म पाँच दिनसम्म यो जात्रा मनाइने परम्परा रहेको छ ।
आमाको मुख हेर्ने दिन आफ्नी आमालाई भेट्न आएका भगवान् भैरवलाई आमाको मन्दिरबाट बिदाइ गर्ने क्रममा सिन्दूर जात्रा मनाइने चलन रहेको छ । यस अवसरमा सम्बन्धित गुठियारहरूले आ–आफ्नो भागको पूजा चढाएपछि भैरवलाई विधिपूर्वक बिदाइ गरिन्छ ।
सिन्दूर जात्रासँगै नेवारी परम्परागत बाजागाजा बजाइन्छ भने सामूहिक रूपमा धिमे नाचसमेत प्रस्तुत गरिन्छ । काठमाडौंको काँठ क्षेत्रमा पर्ने गोकर्णको प्राचीन देशे गाउँमा राजा मानदेवको पालादेखि नै यो जात्रा मनाइँदै आएको विश्वास गरिन्छ, जसले यसको ऐतिहासिक र सांस्कृतिक महत्त्व झल्काउँछ ।
आमाको मन्दिरबाट बिदाइ गरिएका भैरवलाई गाउँका विभिन्न टोल परिक्रमा गराउँदै साँझ आफ्नै मन्दिर रहेको स्थान डुकुलाछी पुर्याइन्छ र पहिलो दिनको जात्रा सम्पन्न हुने गर्दछ ।
तस्बिरहरू:









