प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति स्रोत खुलाउन हर्क साम्पाङको माग

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सरकारका मन्त्रीहरूको सम्पत्तिको स्रोत खुलाउन माग गरेका छन् ।

सामाजिक सञ्जालमार्फत उनले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) र उनका मन्त्रीहरूलाई लक्षित गर्दै सम्पत्ति स्रोत सार्वजनिक गर्न आग्रह गरेका हुन् ।

उनले फेसबुकमा लेखेका छन्, “बालेन जी, अब धेरै बाचापत्र नल्याउनु है! जति ल्याउनु भो त्यो पूरा गर्नु पहिले । अनि तपाईं लगायत सबै मन्त्रीहरूको सम्पत्तिको स्रोत खोल्दिनु। जनताले त्यही पर्खिरहेका छन् ।”

गत आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको वेबसाइटमार्फत प्रधानमन्त्रीसहितका मन्त्रीहरूले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका थिए । तर, विशेषगरी युवा उमेरमै रहेका मन्त्रीहरूसँग सुन, घरजग्गा र शेयर बजारमा करोडौं लगानी रहेको विवरण सार्वजनिक भएपछि सामाजिक सञ्जालमा व्यापक आलोचना र प्रश्न उठेका छन् ।

यस विषयलाई लिएर केही राजनीतिक दलका भ्रातृ संगठनहरूले सडक प्रदर्शनसमेत गरेका छन् । साम्पाङले पनि सुरुदेखि नै यसबारे प्रश्न उठाउँदै आएका छन् ।

उनले यसअघि आफ्नो व्यक्तिगत सम्पत्तिबारे खुलाउँदै नाममा ४–५ तोला सुन र २–४ लाख रुपैयाँ बैंक मौज्दात रहेको बताएका थिए । साथै, खोटाङको केपिलासगढी क्षेत्रमा आमाको नाममा केही पैतृक खेतबारी रहेको उल्लेख गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 3 =