एमाले नेता सुरेन्द्र पाण्डेको प्रश्न : वाम एकता के–का लागि ? 

काठमाडौं । नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले विचार र सिद्धान्तविहीन ‘वाम एकता’ को प्रयासप्रति असन्तुष्टि व्यक्त गरेका छन् । पछिल्लो समय पार्टीभित्रका केही नेताहरू फेरि पनि एकताको दौडधुपमा लागेको भन्दै पाण्डेले सामाजिक सञ्जालमार्फत वाम एकता के–का लागि भन्दै प्रश्न गरेका हुन् ।

उनले लेखेका छन्, ‘हाम्रा कतिपय कमरेडहरू नेतृत्वमाथि संकट आइलाग्यो भन्दै फेरि पनि ‘वाम एकता’को दौडधुपमा हुनुहुन्छ। हिजो पद प्राप्तिका लागि एकता गरियो, आज सायद आफ्नो गुम्दो अस्तित्व जोगाउन। तर पार्टी एकता स्पष्ट विचार र सिद्धान्तका लागि गर्ने कि केही सीमित व्यक्तिको स्वार्थपूर्तिका लागि ?’

उनले अहिले एकता भन्दा पनि एमालेलाई कसरी एकताबद्ध राख्ने भन्नेबारेमा सोच्न जरुरी भएको बताएका छन् ।

विचार र निश्चित गन्तव्य विनाको एकताको अर्थ नहुने बताउँदै उनले अहिले पार्टीको पुनर्निर्माण गर्दै क्षमतावान् र दक्ष व्यक्तिहरू, विशेषगरी युवाहरूलाई पार्टीमा भित्र्याउन आवश्यक भएको बताएका छन् ।

‘विगतमा वैचारिक आधारबिना गरिएको एकताको तीतो परिणाम हामीले भोगिसकेका छौं । हिजो मौन बस्नु हाम्रो गल्ती थियो, तर आज पनि नबोल्नु गम्भीर मूर्खता हुनेछ’, उनले लेखेका छन्, ‘नेकपा (एमाले)लाई अब सत्ता र स्वार्थको जोड घटाउ होइन, विधि, सुशासन र परिणाममुखी नेतृत्वसहितको नयाँ मार्गमा अघि बढाउने आँट हामीले गर्नैपर्छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − eight =