सुन्तला र अलैँचीखेतीमा रमाउँदै केसी

बागलुङ । बागलुङ नगरपालिका–५ मालिकाका कमलबहादुर केसी उमेरले ६८ वर्ष पुगे । भारतमा नोकरीपश्चात् गाउँ फर्किएका केसी कृषिमा तल्लीन छन् ।

वि.सं २०५७ मै सुन्तलाको व्यावसायिक खेती गरेका केसी भारतमा २४ वर्ष सेक्युरिटी गार्डको जागिर खाएर नेपाल फकिएका हुन् ।

पाल्पाबाट सुन्तलाका ५०० सुन्तलाका बिरुवा १५ रोपनी जग्गामा लगाएका केसीले गाउँलेका कारण सुन्तलाका बिरुवा उखेलेर फालेको सुनाए । ‘सुन्तलाका यति धेरै बिरुवा के गर्ने, खेतिपाती छोडेर फलफूलले मात्रै पेट भरिन्न भनेर घरपरिवार र गाउँलेले गाली गरेपछि १५ रोपनी जग्गामा लगाएको सुन्तलाखेती २०६० सालमा उखेलेर फालेको थिए’, केसीले भने, ‘२२ वर्षपछि पुन धानबारीको खेती मासेर सुन्तला लगाएको छु, दुई वटा पोखरीमा ग्रासकाप र सिल्भर जातको माछा पालेको छु भने ४५ रोपनी जग्गामा अलैँचीखेती विस्तार गरेको छु ।’

पहिला सुन्तला लगाउँदा उत्पादनलाई बजारीकरणको चिन्ता थियो । वि.सं २०५७ मा सुन्तला लगाउँदा धान फल्ने खेत मासेको भन्दै गाली खाएको स्मरण गर्दै केसीले अहिले गाउँकै अगुवा किसान भएको बताउछन् । भारतमा लामो समय काम गरेको सुनाउँदै भारतमा माछा खाने लतका कारण मालिकामा दुई वटा पोखरीमा माछापालन गर्दै आएको केसीले सुनाए ।

‘अहिले १४ रोपनी जग्गामा २४५ सुन्तलाका बिरुवा लगाएको छु, दुई वटा पोखरीमा माछा पाल्दै आएको छु, ४५ रोपनी जग्गा भाडामा लिएर अलैँचीखेती थालेकै पाँच वर्ष भयो’, केसीले भने, ‘गत वर्ष तीन लाख अलैँची र दुई लाख सुन्तलाबाट आम्दानी भएको थियो, अहिले लोकल कुखुरा, माछापालन, केरालगायत थप कृषिका कामलाई बढवा दिएको हुँ ।’

वडा स्तरीय कृषि समितिका संयोजक भएर मालिकाका वडाभरका ४२ किसानलाई प्लाष्टिक टनेल, मिनिटेलर हलो, सिँचाइ पाइप, सुन्तलाका बिरुवा अनुदानलगायत काममा सहायता गरेको केसीको भनाइ छ । केसी पूर्ववडा सदस्य हुन् ।

बम्बईको महाराष्ट्रमा सुरक्षा गार्डमा काम गरेको सुनाउँदै २०७० सालदेखि निरन्तर माछापालन गर्दै आएको केसीले सुनाए । सामूहिक रूपमा अलैँचीखेती गर्दै आएका केसीले १७ हजार मासिक भाडा तिरेर ४५ रोपनी जग्गामा अलैँची उत्पादन गर्दै आएको बताए ।

‘कृषिमा अथाहा सम्भावना छ, अहिले लोकल कुखुराको फार्म तयार गरेको छु, सुन्तला र अलैँचीखेतीबाट वार्षिक १२ लाखसम्म आम्दानी गर्ने लक्ष्यका साथ फार्म विस्तार गरेका छौँ’, उनले भने, ‘मालिका वडा कार्यालयले कृषकलाई अनुदानमा सुन्तलाका बिरुवा, माछापालनमा सहयोग गरेको छ ।’

वि.सं २०७४ मा मालिकाको वडा सदस्यमा निर्वाचित केसीले जनप्रतिनिधिपछि पुनः कृषिमा फर्केको बताए । पोखराबाट माछाका भुरा लिएर आएको बताउँदै उनले नगरपालिकाको सहयोगमा माछाका भुरा अनुदानमा लिएको बताए । वार्षिक १०० केजी माछा बिक्री गरेको केसीको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 5 =