एकताबद्ध र सकारात्मक सोचका साथ अघि बढ्नुपर्छ : मुख्यमन्त्री पाण्डे 

गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले एकताबद्ध र सकारात्मक सोचका साथ समग्र मुलुकको विकासका लागि अघि बढ्नुपर्ने आवश्यकता औँल्याएका छन् ।

नयाँवर्ष, २०८३ का अवसरमा आज शुभकामना सन्देश व्यक्त गर्दै उनले नयाँवर्षको अवसरमा आपसी प्रेम, सहकार्य र सद्भाव अभिवृद्धि गर्दै प्राप्त उपलब्धिलाई दिगो बनाउने दिशामा अग्रसर हुन सबैबीच सहकार्य र समन्वय आवश्यक पर्ने बताए ।

गण्डकी प्रदेश सरकार सेवा प्रवाहमा सुधार, सुशासन प्रवद्र्धन तथा दिगो विकासमार्फत जनताको आकाङ्क्षा पूरा गर्न दृढतापूर्वक प्रतिबद्ध रहेको उनले बताए ।

गत वर्षको भदौमा जेनजी आन्दोलनका क्रममा भएका घटनाका कारण ठूलो जनधनको क्षति व्यहोर्नु परेको उल्लेख गर्दै मुख्यमन्त्री पाण्डेले त्यस घटनाले सामाजिक, आर्थिक तथा मनोवैज्ञानिक रूपमा गहिरो प्रभाव पारेको सन्देशमा जनाएका छन् ।

प्राकृतिक विपद्, स्रोतसाधनको सीमितता, अपेक्षित राजस्व सङ्कलनमा कमी तथा विविध सामाजिक समस्याहरूले विकास प्रक्रियालाई प्रभावित बनाएको भन्दै उनले यी सबै चुनौतीहरूलाई अवसरका रूपमा रूपान्तरण गर्दै एकताबद्ध र सकारात्मक सोचका साथ समग्र विकासका लागि अघि बढ्नुपर्नेमा जोड दिए ।

प्रदेशको आर्थिक, सामाजिक, पूर्वाधार तथा संस्थागत विकासमा हासिल उपलब्धि गण्डकी प्रदेशवासी, राजनीतिक दल, नागरिक समाज, कर्मचारी, सुरक्षाकर्मी तथा सञ्चार क्षेत्रको सहकार्यको परिणाम भएको बताउँदै सन्देशमा यस सहकार्यलाई थप सुदृढ बनाउँदै आत्मनिर्भर र समुन्नत प्रदेशः सुखी प्रदेशवासीको सङ्कल्प साकार पार्ने दिशामा प्रदेश सरकार दृढतापूर्वक अघि बढिरहेको जनाए ।

युवा उद्यमशीलता तथा सीप विकासमार्फत रोजगारी सिर्जना, कृषिको आधुनिकीकरण, पर्यटन पूर्वाधारको दिगो विकास, सामाजिक न्यायको प्रत्याभूति, महिला सशक्तिकरण तथा स्थानीय उद्यमशीलताको प्रवद्र्धनलाई प्राथमिकतामा राखी कार्यक्रमहरू प्रभावकारी रूपमा कार्यान्वयन भइरहेका उल्लेख गर्दै उनले यस लक्ष्य प्राप्तिका लागि सबैमा एकता, सहकार्य र प्रतिबद्धता अझ सुदृढ रहोस् भन्ने अपेक्षा गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + 12 =