श्रम संस्कृति पार्टी कुनै क्षेत्र वा जातविशेषमा मात्र सीमित छैन: सांसद राई

काठमाडौँ । श्रम संस्कृति पार्टीका सांसद आरेन राईले पार्टीलाई ‘पूर्वका राईहरूको पार्टी’ भनी भ्रम प्रवाहित भएको भन्दै आफ्नो पार्टी कुनै क्षेत्र वा जातविशेषमा मात्र सीमित नरहेको स्पष्ट पारेका छन् ।
प्रतिनिधि सभाको शुक्रवारको बैठकमा उपसभामुख पदमा रुवीकुमारी ठाकुरलाई निर्वाचित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।
श्रम संस्मृति पार्टीले भूगोल, जात र धर्मका आधारमा बाँडिएका सबै नेपालीलाई एकताको सूत्रमा बाँध्ने उनको दाबी छ । उनले मधेसको प्रतिनिधित्वमार्फत उपसभामुखमा ठाकुरलाई रोज्नुको कारण खुलाउँदै उनले मधेस प्रदेश सबैभन्दा बढी जनसंख्या भएको तथा विगतका शासकहरूबाट सबैभन्दा बढी उत्पीडनमा परेको क्षेत्र भएको उल्लेख गरे ।
उनले भने ‘श्रम संस्कृति पार्टीलाई पूर्वका राईको पार्टी हो पूर्वैतिर सिद्धिन्छ, यो क्षेत्रीय पार्टी हो भन्ने भ्रम प्रवाहित भयो । म भन्न चाहन्छु श्रम संस्कृति पार्टी, जातको, धर्मको, भूगोलको नाममा छुट्याएका तमाम नेपालीहरूलाई हामी एउटै मालामा उनेर अगाडि बढ्न चाहन्छौँ । हामीले उपसभामुखलाई मधेस नै किन चुन्यौ भने मधेस सबैभन्दा धेरै जनसंख्या भएको प्रदेश पनि हो । हिजोका शासकहरूबाट सबैभन्दा धेरै थिचिएको प्रदेश पनि हो । आज सयौँको संख्यामा मधेसका चेलीहरू हेपिएका छन् । रुबीकुमारी यी सबैको आवाज बन्नुहुनेछ भन्न चाहन्छौँ । लोकतन्त्रको सुन्दर पक्ष भनेकै स्वच्छ प्रतिस्पर्धा हो । हामीले स्वच्छ प्रतिस्पर्धा गर्नुपर्छ । हामीलाई समर्थन गर्ने हामी सबैलाई धन्यावाद दिन चाहन्छौँ ।’
लोकतन्त्रको सुन्दर पक्ष नै प्रतिस्पर्धा भएको उल्लेख गर्दै उहाँले आफ्नो उम्मेदवारलाई समर्थन गर्ने सबैलाई धन्यवाद समेत दिए ।









